१ भदौ, काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहलाई घाँटी दुख्ने समस्या भएपछि मेडिसिटी अस्पतालमा भर्ना भएकी छिन् । गत २४ साउनमा हिमानी ट्रष्टको कार्यक्रममा लागि अस्ट्रेलिया गएकी उनलाई सञ्चो नभएपछि बुधबार नेपाल फर्किएकी हुन् । स्वास्थ्यमा थप सुधार नभएपछि उनी बुधबार मेडिसिटी अस्पतालको इएनटी डिपार्टमेन्टमा भर्ना भएको पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव फणिराज पाठकले बताए ।
यो पनि: त्यो रात ! जब राजा वीरेन्द्रको पेस्तोल खोसियो


२०५८ जेठ १९ गते शुक्रबार राति करिब पौने नौ बजे त्रिभुवन सदनस्थित खोपीबाट सैनिक कम्ब्याट लगाएर तत्कालीन युवराज दीपेन्द्र सोही भवनमै रहेको बिलियार्ड हल छिरे र अन्धाधुन्ध फाइरिङ सुरु गरे। सुरुमा सिलिङ र पश्चिम भित्तामा केही सेकेन्डभित्रै बिलियार्ड टेबलको पूर्व छेउमा उभिएर शाही नातेदारसँग कुरा गर्दै आफ्ना बुबा तत्कालीन राजा वीरेन्द्रलाई फायर गरे। वीरेन्द्र लडे उनलाई बहिनी शोभाले समातिन्। शाही नातेदार राजीव शाही पनि दौडँदै आए र वीरेन्द्रलाई उठाए अचानक वीरेन्द्रले पेस्तोल झिके। शोभाले ‘यो छाडिबक्स्योस्’ भन्दै च्याप्प थुतिन् शोभाको हातमा म्याग्जिन आयो फ्याँकिदिइन्।
त्यसपछि करिब पौने नौदेखि नौबजेभित्र १५ मिनेटमा दीपेन्द्रले नारायणहिटी राजदरबारमा जुन वितण्डा मच्चाए, त्यसले १६ वर्षअघिको त्यो कालो रातलाई नेपाली इतिहासका सर्वाधिक भयानक दिनमध्ये एक बनाइदिएको छ। त्यो दिनको घटना सम्झिँदा अहिले पनि शरीर थरर काँप्छ। त्यो पन्ध्र मिनेटको त्रासदीमा तत्कालीन राजा वीरेन्द्र, युवराज दीपेन्द्र, रानी ऐश्वर्या, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतीसहित दस जनाको ज्यान गएको थियो। त्यो रात दीपेन्द्रको पहिलो फायरिङपछि नै वीरेन्द्रले हातमा निकालेको पेस्तोल शोभाले नखोसिदिएको भए के हुन्थ्यो ?
फेमस ग्राउजका केही निट पेग, गाँजा र अन्य लागू पदार्थ खाएर होसहवास गुमाइसकेका दीपेन्द्रको मस्तिष्कमा प्रेमिका देवयानी राणासँग सम्बन्ध गाँस्न परिवारले गरेको आनाकानीले झनै आगो बालिदिएको थियो। होसहवास गुमाएर जथाभावी फाइरिङ गर्दै हिँडेका दीपेन्द्रलाई नै आफूलाई गोली लागिसकेपछि वीरेन्द्रले गोली प्रहार गर्थे वा गर्थेनन् ? दीपेन्द्रसँग त्यो रात चारवटा हतियार थिए, दुइटा राइफल, अर्को बाह्र बोरको बन्दुक र ह्यान्डगन।
सैनिक कम्ब्याटमा चारवटा हतियार लिएर अचानक बिलियार्ड हल छिरेका दीपेन्द्रले गोली बर्साउन थालेपछि अरु कसैलाई हतियार निकाल्ने होस नै भएन। वीरेन्द्रले भने पेस्तोल निकालिसकेका थिए। तर, शोभाले च्याप्प समाइन् र म्याग्जिन थुतिदिइन्। वीरेन्द्रको हातबाट शोभाले म्याग्जिन नथुतिदिएको भए सम्भवतः नेपाली राजतन्त्रको इतिहास नै बदलिन्थ्यो ! … त्यतिबेला नारायणहिटी राजदरबारमा हरेक महिना तेस्रो शुक्रबार पारिवारिक जमघट हुन्थ्यो। तत्कालीन युवराज दीपेन्द्रको खोपी रहेको त्रिभुवन सदनमा हुन्थ्यो त्यो पारिवारिक जमघट। त्यो दिन निम्त्याइएका २४ जनामध्ये तीन जना आएनन् – प्रेक्षा, मोहनबहादुर शाही र विमला सिंह। अरु २१ जना साँझ आठ बजे आसपास त्रिभुवन सदन पुगिसकेका थिए।
साँझ साढे सात बज्नुअघि नै दीपेन्द्रले बिलियार्ड हलमा बसेर फेमस ग्राउज ह्विस्कीको दुई पेग मारिसकेका थिए – एक्लै बिलियार्ड खेल्दै। साढे सात बजे बोलाइएका शाही नातेदार बिस्तारै आउन थालेका थिए। आमा कोमल, बहिनी प्रेरणा, पत्नी हिमानीसहित पारस ७ः४० मा निर्मल निवासबाट नारायणहिटीमा रहेको बिलियार्ड हल आइपुगे। त्यो दिन ज्ञानेन्द्र भने पोखरामा थिए। पारसले सुरुमै आउँदा दीपेन्द्रलाई मातिसकेको देखेका थिए। मातेका दीपेन्द्रले देवयानीलाई संकेत गर्दै पारसलाई भने, ‘बिहेको कुरा भएको छ, मुमाले हुँदैन भन्नुभयो। अब पर्सि बुबासँग कुरा गर्छु।’
दीपेन्द्र–देवयानी सम्बन्धको गहनता र जटिलता दुवै नारायणहिटीको चौघेराबाट आम जनताको कानसम्म पुगिसकेको बेला थियो। तत्कालीन मुमा बडामहारानी रत्न त्रिभुवन सदन नजिकैको महेन्द्र मञ्जिलमा बस्थिन्। आठ बजे दीपेन्द्र बिलियार्ड हलबाट बाहिर निस्के र आफैं मोटर चलाउँदै महेन्द्र मन्जिलबाट रत्नलाई लिएर त्रिभुवन सदन फर्के।
रत्न मुख्य जमघटस्थल बिलियार्ड हल पस्दिनथिइन्। त्यो दिन पनि उनी अधिराजकुमारी हेलेनसँग आडैको सानो बैठकमा बसिरहिन्। बिलियार्ड हल बिस्तारै गुल्जार हुँदै गयो। मातिसकेका दीपेन्द्रले आफैं पाहुनाहरुलाई ड्रिंक्स सर्भ गरे। सबैभन्दा ढिलो साढे आठ बजे राजा वीरेन्द्र आफ्नो कार्यालयबाट पैदलै जमघटस्थल आइपुगे। सबैभन्दा पहिला सानो बैठकमा छिरेर आमा रत्नको दर्शन गरे, एकछिन भलाकुसारी गरे र त्यसपछि बिलियार्ड हल प्रवेश गरे।
https://ujyaalonepalnews.com/archives/23856


