१३ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक तर्फको मत गणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेईओसी)का अनुसार, अहिलेसम्म उदयपुर–१, सुनसरीको ३ र ४ को मात्रै समानूपातिकतर्फ मतगणना चलिरहेको छ भने बाँकी जिल्लाको गणना टुंगिएको छ ।
गणना भइरहेका जिल्लाको पनि ७ देखि साढे ८ हजार मत गन्न बाँकी भएकाले कुल २५ हजारजति मत मात्रै गन्न बाँकी छ । निर्वाचन प्रक्रिया रोकिएका स्याङजा–२, बाजुरा र दोलखा बाहेक तीन जिल्लाको मतगणना सुरु नै भएको छैन । हालसम्म गणना भएको मध्ये ९८ लाख ३० हजार ८८३ सदर छ । त्यसमा जनमतसहित ७ दलले ३ प्रतिशत मत पाएर थ्रेसहोल्ड कटाएका छन् । सत्तारुढ एकीकृत समाजवादीले भने २ लाख ७७ हजार ८६८ मत पाएको छ ।

यो कुल सदर मतको २.८३ मत हो । पछिल्लो केही दिनयता एकिकृत समाजवादी दलले कुल सदर मतको तुलनामा आफ्नो मत अनुपात बढाएपनि थ्रेसहोल्ड(३ प्रतिशत कटाउन सकेको छैन । पछिल्लो मतपरिणाम अनुसार उसलाई अहिलेको अवस्थामा थ्रेसहोल्ड कटाउन १६ हजार ७७८ मत पुग्दैन । मतगणना नै शुरु नभएका जिल्लामध्ये दोलखामा १ लाख ६१ हजार, बाजुरामा ८२ हजार ५६७ र स्याङजा–२ मा १ लाख १६ हजार कुल मतदाता छन् ।
त्यहाँ अन्यत्र झै औसत ६० प्रतिशत मत खसेको अनुमान गर्ने हो भने अरु २ लाख १५ हजार मत थपिन्छ । यसरी हेर्दा अब गणना हुने समानुपातिक मतमा एकीकृत समाजवादीले करिव २५ हजार पाएमाथ्रेसहोल्ड कटाउनसक्ने देखिन्छ । थ्रेसहोल्ड कटाउनासाथ समानूपातिकतर्फ कम्तिमा ४ सिट पाउँछ र राष्ट्रिय दल बन्छ । तर थ्रेस होल्ड कटाउन सकेन भने एकीकृत समाजवादीले पाएको पुगनपुग ३ लाख मत खेर जान्छ र समानूपातिकतर्फ कुनै सिट पनि पाउँदैन ।
https://ujyaalonepalnews.com/archives/25113


