उज्यालो नेपाल- चितवनको क्षेत्र नं २ बाट निर्वाचित सांसद रवि लामिछानेलाई युटुबर साथमा बोकेर संघसंस्था तर्साउँदै हिंडेको आरोप लागेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि लामिछानेले पदीय मर्यादा विपरीत काम गरेको भन्दै चितवनको भरतपुर–२, आपँटारीस्थित जलदेवी सामुदायिक वन उपभोक्ता समूहले मंगलबार विज्ञप्ति जारी गरेको छ ।
सांसद लामिछानेले युटुबर र सामाजिक संजाल प्रयोगकर्ता साथमा लिएर समुहको कार्यालयमा प्रवेश गरि अमर्यादित र पदिय हैसियत बाहिरको काम गरेको समुहले आरोप लगाएको हो । समुहले जलदेवी पार्क भित्र हावाहुरीले रुखको हाँगा भाचेको र हावाहुरीले ढलेको रुख साथै विद्युतले फडानी गरेको हाईटेन्सन मुनिबाट संकलन गरी राखेको काठ सोही स्थानमा त्यसै छाड्दा चोरी निकासी हुने तथा हराउने संभावना भएकाले उक्त काठलाई संरक्षण गरी प्रयोग गरी सोही पार्कलाई विकास गर्ने प्रस्तावना बमोजिम जम्मा गरिराखेको काठको बारेमा अनावश्यक टिकाटिप्पणी नगर्न समेत आग्रह गरेको छ ।

पुरानो कला संस्कृतीको संरक्षण गर्ने उद्देश्यले ढिकी, रोटे पिङ्ग, जाते पिङ्ग, हलो, जुवा कोल,काठेपुल तथा लोपोन्मूख सामाग्रीहरु र घाईते वन वन्य जन्तुहरु संरक्षण गर्ने खोर निर्माणको लागी कार्यसमितिको बैठकले निर्णय गरी पार्क भित्र चिरान गरि पार्क निर्माण स्थलमा भाद्र महिनामा राखिएको र विविध परिस्थीतिले चाडवाड साथै राष्ट्रिय निर्वाचनका कारण काम प्रारम्भ गर्न केही विलम्व भएकोमा डिभिजन वन कार्यलयलाई लगत पठाउन काम गरिरहेको अवस्थामा सांसद लामिछानेले सामुदायिक वनको मर्म र भावना बिपरीत समुदायले संरक्षण गरेको बनमा पुगेर समुदायको मानिसहरुलाई आतंकित पारेको भन्दै समुहले त्यसो नगर्न अनुरोध गरेको छ ।
समुहले संसद जस्तो गरिमामय पदको दुरुपयोग नर्गन, हस्तन्तरित वनको संरक्षण सम्वर्धन गरिरहेका संघ संस्थाहरुलाई नतर्साउन र संसदको पदले गर्नु पर्ने दायित्व र काम कर्तव्यका कार्यहरु गर्न अनुरोध गर्दै लामिछानेको उक्त कदमको भत्सना समेत गरेको छ । गत शुक्रबार समुहले लुकाएर राखेको भनिएको ४८ क्यूफिट सालको चिरान काठ लामिछाने, डिभिजन वन कार्यालयका प्रमुख लोकराज नेपाल लगायतको टोलीले बरामद गरेको थियो।

https://ujyaalonepalnews.com/archives/25342


