मौसमी श्रमिक सरकारबाटै निःशुल्क पठाउने गरि कार्यविधि स्वीकृत

काठमाडौँ, पुस ४ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत भएको जानकारी दिनुभएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अब सरकारले बेलायत, क्यानडा, दक्षिण कोरियालगायतका आकर्षक गन्तव्य मुलुकमा मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत गरेको हो।

उहाँले कार्यविधि स्वीकृति भएसँगै शून्य लागतमा मौसमी श्रमिक पठाउन बाटो खुलेको बताउनुभयो। हालसम्म सरकारले मौसमी श्रमिक भनेरै वैदेशिक रोजगारीमा पठाएको छैन। वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत वैदेशिक रोजगारीमा जानका लागि न्यूनतम दुई वर्ष करार अवधि तोकिएको छ तर व्यक्तिगत श्रम स्वीकृति लिएर जाँदा करार अवधि यति नै भनेर नतोकिएका कारण मौसमी श्रमिकका रूपमा पनि श्रम स्वीकृति लिएर कतिपय गन्तव्य मुलुक पुगिरहेका छन्।

बेलायत, दक्षिण कोरिया, क्यानडालगायत देशमा मौसमी श्रमिकको माग आउने गरेको र यस कार्यविधिले सरकारीस्तरबाट पठाउन बाटो खुलेको छ। मौसमी श्रमिक विशेष गरी छ महिनाका लागि माग हुने गरेको छ।

मौसमी कामका लागि युवाको आकर्षण बढेसँगै ठगीको जोखिम बढ्न थालेपछि सरकार आफैँले शून्य लागतमा मौसमी श्रमिक पठाउने तयारी गरेको मन्त्री कुँवरले जानकारी दिनुभयो।

https://ujyaalonepalnews.com/archives/25472

Previous article‘दुई महिनापछि भरतपुरबाटै लाइसेन्स वितरण’
Next articleआगामी शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।