आगामी शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू हुने

काठमाडौँ, पुस ७ गते । आगामी शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुने भएको छ । पाठ्यक्रम परिवर्तनका लागि काम भइरहेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । जसअन्तर्गत कक्षा ५ र १० को पाठ्यक्रमको खाका निर्माण सकिएको र कक्षा ८ को खाका निर्माणकै क्रममा रहेको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले बताए ।

उनि भन्छन्, ‘आगामी शैक्षिक सत्रबाट कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रमअनुसार पढाइ हुनेछ । यसका लागि पाठ्यक्रम विकास केन्द्रले काम गरिरहेको छ । कक्षा ५ र १० को पाठ्यक्रमको खाका तयार भएको छ । अब कक्षा ८ को खाका तयार गर्दैछौं  नयाँ पाठ्यपुस्तकको ‘प्रिन्ट रेडी कपी’ (छाप्नका लागि तयार भएको मस्यौदा) जनक शिक्षा सामग्री केन्द्रलाई पठाएपछि केन्द्रले छपाइ गर्नेछ । कक्षा ५ को प्रिन्ट रेडी कपी जनक शिक्षा सामग्री केन्द्रमा पठाइसकिएको उनले बताए ।

गत वर्ष कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रममा आधारित भएर पठनपाठन सुरु भइसकेको छ । आगामी वर्ष २०८० मा माध्यमिक शिक्षा परीक्षा (एसइई) पढेर परीक्षा दिने विद्यार्थीले नयाँ पाठ्यक्रममा आधारित भएर परीक्षा दिनुपर्नेछ । तर २०७९ सालको एसइई दिने विद्यार्थीले भने पुरानै पाठ्यक्रममा आधारित भएर परीक्षा दिनेछन् । सरकारले २०८० सालसम्म विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू गर्ने योजना यसअघि बनाएको थियो । सरकारको यही योजनाको आधारमा नयाँ पाठ्यक्रम लागू गर्न थालिएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अर्यालले बताए ।

कक्षा ८ र १० को अनिवार्य विषयअन्तर्गत अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक विषय तथा कक्षा ५ को अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक र स्वास्थ्य तथा शारीरिक विषयको पाठ्यक्रम नयाँ हुनेछ । विश्वव्यापी नियम अनुसार नै हरेक पाँच वर्षमा पाठ्यपुस्तकको पाठ्यक्रम पुनरवलोकन हुने र १० वर्षमा पाठ्यक्रम नै परिवर्तन गर्ने व्यवस्था रहेको छ । यसअघि कुनै कक्षाको १० वर्ष र कुनैको १३ वर्षमा पाठ्यक्रम परिवर्तन गरिएको थियो । २०६३ सालपछि २०७६ सालमा मात्र पाठ्यक्रम परिवर्तन भएको थियो ।

‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ २०७६ अनुसार २०८० सम्म विद्यालय तहका सबै कक्षाको पाठ्यक्रम परिवर्तन गर्ने योजना छ । २०७७ मा मात्र कक्षा १ र ११ को पाठ्यक्रम परिवर्तन भएको थियो । २०७८ मा कक्षा २ ,३ र १२ कक्षाको पाठ्यक्रम परिवर्तन गरी नयाँ लागू भएको थियो । यस्तै २०७९ सालको नयाँ शैक्षिक सत्रदेखि कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रम लागू भइसकेको छ ।

https://ujyaalonepalnews.com/archives/25475

Previous articleमौसमी श्रमिक सरकारबाटै निःशुल्क पठाउने गरि कार्यविधि स्वीकृत
Next articleवैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शुभम पावरको शेयर बिक्री खुला, कसरी भर्ने शेयर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।