उज्यालो नेपाल- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कतै खसी कराएको सुन्दा पनि आफु झसङ्ग हुनेगरेको बताएका छन् । बुधवार एउटा कार्यक्रममा थापाले सामाजिक सञ्जालमा आउने गालीगलौजलाई लिएर आफ्नो धारणा राख्ने क्रममा उक्त कुरा बताएका हुन् । नागरिकता र राहदानीका कारण विवादमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले केही दिन अघि गरेको पत्रकार सम्मेलनमा थापाको समेत नाम लिएका थिए ।
आफुलाई चारवटी श्रीमती ल्याएको भन्दै गाली गर्ने गरेको उदाहरण दिन लामिछानेले थापाको नाम जोडेका थिए । ‘गगनलाई वाख्रा र मलाई चारवटी श्रीमतीले कहिल्यै छोड्दैन’ भन्दै लामिछानेले भनका कारण गगन थापाको वाख्रा काण्ड अहिले फेरी चर्चामा आएको छ। महामन्त्री थापाले ट्विटर र फेसबुकमा आफूलाई आउने गाली पढ्दा बैराग्य नै उत्पन्न हुने सुनाए ।
‘मेरो बारेमा लेखिएका ट्विट, स्टाटस, मलाई गरिएको गाली बेलुकाबेलुका बसेर पढें भने कमण्डलु लिएर हिँडौं जस्तो हुन्छ । मेरो त संसारै केही रहेनछ, म त मान्छे नै होइन रहेछु, यो धर्तीमा किन आएछु भन्ने लाग्छ ’ उनले भने–‘कसैले दलाल भन्छन्, कसैले भ्रष्टाचारी भन्छन् । कसैले बाख्राका कुरा गर्छन् । के बाँकी हुन्छ र ? मेरोबारेमा बोल्नेहरुलाई मैले पनि आफ्ना मान्छे पठाएर कारबाही गर्छु भनें भने त गृहयुद्धै हुने भयो नि त !
के हो थापा संग जोडिने खसी काण्ड ?
नेपाल सरकार कृषि मन्त्रालय अन्तगर्ततको व्यावसायिक कृषि परियोजना केन्द्र (प्याक्ट) मार्फत थापा अध्यक्ष रहेको सुनखानी एकिकृत कृषि केन्द्रले राज्यकोषबाट १४ करोड अनुदान लिएर हिनामिना गरेको खुलासा भएको थियो। विश्वबैंकको सहयोगमा संचालित उक्त आयोजना अन्तर्गत लिएको पैसाबाट नुवाकोटको सुनखानीमामा बाख्रा पालन, फर्पिङमा कुरिलो खेती र काठमाण्डौंको गोल्फुटामा एचएण्डएच मिट सप (गुणस्तरीय मासु उत्पादन तथा बजारीकरण उपआयोजना) सञ्चालन गर्ने गरी सम्झौता भएको थियो। जसमा थापासहितका ४ जना पार्टनर सहभागि थिए ।
पुर्वमन्त्री एवम कांग्रेस महामन्त्री गगन थापाले भने प्याक्टसँग सम्झौता भएपनि उक्त रकम नलिएको वताएका छन् । आफु अध्यक्ष रहेको काठमाण्डौंको महाँकालस्थित सुनखानी एकीकृत कृषि केन्द्रले गुणस्तरीय मासु उत्पादन तथा बजारीकरण उपआयोजना संचालन गर्न सम्झौता गरेता पनि ०७२ फागुनअघि नै उक्त सम्झौता रद्ध गरिएको उनको भनाई छ।
आफु कृषि तथा जलस्रोत समितिको सभापति भएपछि कार्यसम्पादनमा असर पर्ने तथा स्वार्थ बाझिने भएकोले उपआयोजना संचालन गर्न असमर्थता जनाएर सम्झौता रद्द गरिएको थापाले वताउने गरेका छन् ।
भिडियो हेर्न यँहा क्लिक गर्नुहोला !!
https://ujyaalonepalnews.com/archives/26306


