आज महाशिवरात्रि : पशुपतिमा बिहानैदेखि घुइँचो

यो समाचार अडियोमा सुन्नुहोस्

काठमाण्डाै – आज महाशिवरात्रि । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व भगवान शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ । पशुपति क्षेत्रमा साधुसन्त एवम् भक्तजनहरुको भिड लागेको छ । पशुपति परिसर एवम् बाग्मती किनारामा गएरातिदेखि नै दर्शनार्थी एवम् भक्तजनको घुइँचो छ ।

बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको कोषले जनाएको छ । पशुपतिमा शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आउने गरेका छन् । शिवरात्रिलाई लक्षित गर्दै पशुपति क्षेत्रलाई सिँगारिएको छ । शिवरात्रिमा पशुपतिनाथ मूलमन्दिरमा २० लाख दर्शनार्थीले प्रत्यक्ष दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान गरिएको छ ।

पोहोर १४ लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेका थिए । पशुपति क्षेत्रमा पुग्ने भक्तजनको सङ्ख्या गएको वर्ष २० लाख थियो । यसपालि पोहोर जस्तो कोरोना महामारी र डेङ्गीको त्रास नभएकाले पनि भक्तजन बढी आउने अनुमान गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले बताउनुभयो । उहाँका अनुसार पशुपति क्षेत्रमा भक्तजनको भिड हुने भएकाले आज ५० भन्दा बढी विशेष पूजाको कार्यक्रम राखिएको छैन ।

शिवरात्रिमा पशुपति क्षेत्र पुग्ने भक्तजनलाई व्यवस्थापन गर्न झण्डै चार हजार स्वयंसेवक खटिने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताउनुभयो । पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको छ । पशुपतिनाथमा क्षेत्रमा ३ हजार ५ सय प्रहरी परिचालन गरिएको छ ।

शिवरात्रिमा पुग्ने दर्शनार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै मन्दिर अगाडिको डबली क्षेत्रमा मूल स्वास्थ्य शिविर आयोजना गरिएको छ । पशुपतिनाथसहित देशभरका अरु शिव मन्दिरमा पनि आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

https://ujyaalonepalnews.com/archives/26421

Previous articleराजनीतिले छोएको ‘छ्क्का पन्जा ४’को ट्रेलर (भिडियो)
Next articleपुरुषका लागि गर्भ निरोधक चक्की बनाउँदै वैज्ञानिक, मुसामा गरिएको परीक्षण सफल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।