पर्सामा मिटरब्याजीसम्बन्धी नौ सय ८४ उजुरी दर्ता

पर्सा- जिल्ला प्रशासन कार्यालय पर्सामा हालसम्म अनुचित लेनदेन (मिटरब्याजी) सम्बन्धी नौ सय ८४ वटा निवेदन दर्ता भएको छ । मिटरब्याजीहरुको कारण दुःख पाएको भन्दै पीडितले हालसम्म नौ सय ८४ वटा निवेदन दर्ता गराएको जिल्ला प्रशासन कार्यालय पर्साका मिटरब्याजी पीडित सहायता कक्षका प्रमुख गौरीशङ्कर साहले जानकारी दिनुभयो ।

सरकारले मिटरब्याजीविरुद्ध अध्यादेशमार्फत कानुन बनाइ ठगी गर्ने साहुहरूलाई कानुनी कारबाही गर्ने निर्णय बमोजिम पीडितहरूले न्यायका लागि निवेदन दिएको उहाँले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले वैशाख १५ गते मिटरब्याजी पीडितहरूलाई निवेदन दिन सूचना निकालेपछि वैशाख १७ गतेदेखि निवेदन आउन सुरु भएको प्रमुख साहले बताउनुभयो । अधिकांश पीडितहरूले स्वयं आफैँ निवेदन लिएर जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराउने उहाँको भनाइ छ ।

गरिबी र सोझोपनको फाइदा उठाउँदै साहुहरूले दिएको रकमको तिहाइ, चौथाइ कपाली कागज गराउनाका साथसाथै जग्गासमेत आफ्नो नाममा साहुहरूले दर्ता गराई अन्याय गरेको अधिकांश पीडितले उजुरीमा उल्लेख गरेका छन् । पीडितहरूको निवेदन दिने चाप बढेको हुनाले जेठ १४ गतेसम्म निवेदन लिने गरी समय बढाइएको उहाँले बताउनुभयो ।

समय सीमा सकिसकेपछि निवेदनमाथि जाँच बुझ गरी आयोगको निर्देशनअनुसार आयोगलाई सिफारिस गर्ने पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/27496

Previous articleबाजुराको बिछिया केन्द्रविन्दु भएर भूकम्प
Next articleजबरजस्ती करणी आरोपमा उपप्रध्यापक पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।