करिब दुई करोड रुपैयाँ पर्ने रक्तचन्दनको तेल बरामदः कारोबारमा संलग्नहरु पक्राउ

काठमाडौं- प्रहरीले झन्डै रु दुई करोड पर्ने रक्तचन्दनको तेल बरामद गरी कारोबारमा संलग्नहरुलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उक्त तेलको अवैध कारोबारमा संलग्न आठ व्यक्तिहरुलाई पक्राउ गरी कारबाहीका लागि डिभिजन वनलाई बुझाइएको छ ।

काठमाडौँ–६ चुच्चेपाटीमा ८० लिटर रक्तचन्दनको तेल प्रतिलिटर रु दुई लाख ५० हजारका दरले अवैध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी ८० लिटर रक्तचन्दनको तेल बरामद गरेको हो ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँ पठाइएको कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–७ चावहिल बस्ने वर्ष ३० का सुशील पाठक, कालिकोट रासकोट घर भई हाल काठमाडौँको चावहिल बस्ने वर्ष २८ का विनोद बराल, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१५ घर भई कलङ्की बस्ने ज्ञानबहादुर ओली रहेका छन् ।

यस्तै रामेछाप लिखु तामाकोसी घर भई काँडाघारी बस्ने नवीन दाहाल, सोही ठाउँ बस्ने गोकर्णहरि दाहाल, बाँके घर भई चावहिल बस्ने निलकान्त भुसाल । धादिङ घर भई जडिबुटी बस्ने मोहनबहादुर विश्वकर्मा पनि पक्राउ परेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/27681

Previous articleगणतन्त्र दिवसको अवसरमा उपराष्ट्रपति यादवको शुभकामना सन्देश
Next articleराष्ट्रिय मान्यताप्राप्त पृथ्वी राजमार्गको निर्माण कार्यमा सुस्तता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।