नब्बे वर्षको उमेरमा दुवै आँखाले देख्न थालेपछि…

भोजपुर- गाउँमा चलेको निःशुल्क आँखा शिविर ९० वर्ष पुग्नुभएका मचिन्द्र राईका लागि वरदान साबित भएको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२, छिनामखुका राई वृद्धावस्थामा दुवै आँखाले देख्नु सक्ने हुनुभयो । दाहिने आँखामा मोतियाविन्दुको समस्या भएपछि मचिन्द्रलाई घरभित्र बाहिर गर्न पनि समस्या हुँदै आइरहेको थियो ।

विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोग लिएर नेपाल नेत्र ज्योति सङ्घ, आँखा तथा कान उपचार केन्द्र भोजपुरको आयोजना तथा टेम्केमैयुङ गाउँपालिकाको प्रायोजनमा अन्नपूर्ण बागधन रनदीपा राई माविमा सञ्चालन भएको निःशुल्क आँखा शिविरबाट ५४ जना आँखा देख्न सक्ने हुनुभयो ।

भोजपुरका ग्रामीण क्षेत्रहरु अन्य रोगको तुलनामा आँखा रोगीको सङ्ख्या धैरे देखिने गरेकाले गाउँस्तरीय शिविरलाई पहिलो प्राथमिकतामा राखिएको उपचार केन्द्रका प्रमुख विजय तामाङले बताउनुभयो ।

आर्थिक अवस्था र विविध कारणले वर्षौँदेखि आँखाको समस्या झेल्न बाध्य नागरिकलाई आफ्नै पालिकामा सञ्चालन भएको शिविरले लाभ पुर्याएको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । अध्यक्ष बस्नेतले भन्नुभयो, “शिविरले हाम्रा वृद्ध आमाबुबालाई पुनः स्पष्ट देख्ने बनाएको छ, योभन्दा खुसीको कुरा के हुन्छ ।”

सिबिएम ग्लोबल विराटनगर, आँखा अस्पताल विराटनगर रानीको प्राविधिक सहयोगमा टेम्केमैयुङ गाउँपालिकाको नौवटै वडाबाट आएका एक हजार तीन सय जना बिरामीको जाँचपछि उपचार गरिएको छ । जसमा ५४ जनाको सफल मोतियाविन्दुको शल्यक्रियासमेत गरिएको छ ।

“हामी वृद्धावृद्धालाई पुनः दोस्रो जन्म पाएको जतिकै भएको छ, गाउँमै उपचार पाएपछि दुवै आँखाले स्पष्ट देख्न सक्ने भएका छौँ ।” टेम्कैमैयुङ गाउँपालिका–४ का ८६ वर्षीय प्रेमबहादुर राई खुसी हुँदै भन्नुहुन्छ । उहाँको शिविरमा देब्रे आँखाको शल्यक्रिया भएको थियो । यस्तै, ७९ वर्षीया शुभद्रा बुढाथोकी पनि शिविरमा शल्यक्रियाको सेवा पाएकामा खुसी हुनुहुन्छ ।

विपन्न र दुर्गम भेगका अशक्त नागरिकलाई लक्षित गरी भोजपुरमा निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरिएको नेत्ररोग विशेषज्ञ डा युगान्तिका खत्रीको भनाइ रहेको छ । डा खत्रीले भन्नुभयो, “भोजपुरका ग्रामीण विपन्न र अशक्त नागरिकका लागि सहज उपचार सेवा दिन हामीले शिविर सञ्चालन गरेका हौँ, ग्रामीण भेगका वर्षौँदेखि आँखाका समस्या लिएर आउने बिरामीलाई हाम्रो टोलीले सफल उपचार गरेको छ ।”

दुर्गमका नागरिकलाई ठूला अस्पताल जाँदा आइपर्ने महँगो खर्च र सास्ती यो शिविरले कम गरेको छ । गाउँमै निःशुल्क ठूला उपचार पाउनु स्थानीयका लागि अवसर हो । आँखाका रोगीहरुको सङ्ख्या ग्रामीण क्षेत्रमा बढी देखिएकाले सबै क्षेत्रमा शल्यक्रिया सहितको शिविरहरु क्रमिकरुपमा सञ्चालन गरिँदै लगिने नेपाल नेत्रज्योति सङ्घ भोजपुरले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/28193

Previous articleदुईवटा अस्पतालमा महानगरले लगायो ताला
Next articleसवारी साधनमै पुगेर नागरिकता प्रदान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।