कृषक न्यौपानेको उदाहरणीय कर्मः रासायनिक मलको विकल्पमा जैविक मल

चितवन- रसायनिक मल र बिषादीको सट्टा घरमै जैविक मल र बिषादी बनाएर खेति गर्न सकिने चितवन जगतपुर धम्पुसका किसान छबिलाल न्यौपाने उदाहरण बन्नुभएको छ । उहाँले घरमै उत्पादन गरेको जैविक मल र बिषादीको प्रयोग गरेर ब्यवशायिक खेति गर्दै आउनुभएको छ ।

जैविक मल र बिषादी रसायनिक मलमा हुने खर्च भन्दा निकै कम हुने उहाँले बताउनुभयो । जैविक मल र विषादीले रसायनिक मल र बिषादीमा हुने ठूलो खर्च पनि कम हुने र जैविक मल र बिषादी बाट उत्पादन गर्दा लागत पनि घटाउने छ ।

किसान छवि न्यौपानेलाई रासायनिक मल पाइएन भन्ने चिन्ता छ न विषादी किन्नुपरेको छ । पश्चिम चितवनका न्यौपानेले बोटबिरूवालाई चाहिने मल, पोषक पदार्थ आफैं बनाउनुहुन्छ । ढुसी, कीराको प्रकोप, अरू रोग निको पार्ने विषादी पनि आफैं तयार गर्ने गर्नुभएको छ ।

न्यौपानेको फार्म भरतपुर महानगरपालिका–२५ मा छ । ‘प्रभात प्रांगारिक कृषि उत्पादन केन्द्र’ नामको फार्ममा आफुलाई चाहिने सबै मल र बिषादी तयार गर्ने गर्नुभएको छ । न्यौपानेले बिभिन्न भाडाहरुमा गुणस्तरीय बाली उत्पादनका लागि माटोलाई योग्य बनाउन आवश्यक पर्ने तत्वहरू उत्पादन गर्दै आउनुभएको छ ।

माटोका लागि फाइदाजनक जीवाणु, जरा र डाँठका लागि पोषक तत्व र रोगबाट जोगाउने वस्तु उत्पादन गरेको बताउनुभयो । उहाँले जैविक मल र बिषादीहरु दूध, दही, घिउ, मोही, गोबर, गोमूत्र, नरिवलको पानी, भेली, वर र पिपलको बोटमुनिको माटो प्रयोग गरेका बनाउने गर्नुभएको छ ।

उक्त मल गर्मीयाममा १२ देखि १५ दिनमा र जाडोमा २० देखि २२ दिनमा तायार हुन्छ । यसरी बनाएको मल जैविक बिषादीमा पर्याप्त मात्रामा नाइट्रोजन, पोटास, फोसफरस इत्यादि तत्व हुन्छ । उक्त मिश्रणहरु खेत जोत्दा, बाली लगाउँदा, बिरूवा हुर्किँदै गर्दा अनि फूल र फल लाग्दासम्म प्रयोग गर्ने गरिन्छ ।

‘१० कट्ठा जमिनमा एक पटकमा २५० लिटर छर्नु पर्छ ,यसले माटोमा लाभदायक जीवाणु तयार गरेर मलको काम गर्छ। माटाको गुणस्तर सुधारेर योग्य बनाउँछ।’ दूध, दही, घिउ, नरिवलको पानी, भेली प्रयोग गरेर बनाएको पञ्चामृतले बिरूवामा फूल र फल लाग्न पोषणको काम काम गर्ने उहाँको भनाइ छ ।

उहाँले बिरूवाको जरा र डाँठ बलियो बनाउन ‘वेस्ट डिकम्पोजर’ बनाउनु भएको छ । सुरूमा गोमूत्रबाट बन्ने मदर सिडमा अत्यधिक मात्रामा लाभदायक जीवाणु हुन्छन् । यसलाई भेलीमा घोलेर ‘वेस्ट डिकम्पोजर’ तयार गर्नुपर्छ ।

‘बिरूवा राम्ररी हुर्किन जरा र डाँठ बलियो हुनुपर्छ। डिकम्पोजरले त्यो काम गर्छ,’ न्यौपानेले भन्नुभयो, ‘यसले बिरूवालाई रोगबाट मुक्त पार्छ। रोगसँग लड्ने क्षमता विकास गर्छ ।’ उहाँले बालीमा लाग्ने विभिन्न किसिमका ढुसी नियन्त्रण गर्न अमिलो मोही, मेवाको पात, आँकको पात, गोमूत्र शुद्ध बेसार र बढी पिरो हुने खुर्सानी मिलाएर ‘निमास्त्र’ नामको औषधि तयार पार्नुभएको छ ।

बिरूवालाई असर गर्ने छेडुवा कीरा नियन्त्रण गर्न निमको पात र दाना, आलो गोबर, गोमूत्र र पानीबाट पनि औषधि तयार हुन्छ । न्यौपानेले ‘घनजीवामृत’ नामको मल पनि उत्पादन गर्नुभएको छ ।

न्यौपानेले सुकेको पात र गोबर हालेर गँड्यौला पाल्नुभएको छ । गँड्यौलाले मल गुणस्तरीय बनाउँछ। उहाँले त्यही मल खेतबारीमा प्रयोग गर्नुहुन्छ । उहाँले यही जैविक मल र बिषादी प्रयोग गरेर धान, मकै, गहुँ र तरकारी खति गर्दै आउनु भएको छ ।

उहाँको मुख्य पेसा कृषि नै भए पनि व्यावसायिक रूपमा खेती गर्न थालेको भने सात बर्ष भयो । करिब तीन बिघा आफ्नै जमिनबाट तरकारी खेती गरेर व्यावसायिक खेति सुरू गर्नु भएको थियो । अहिले जमिन भाडामा लिएर १६ विघामा ब्यवशायीक रुपामा खेति गर्दै आउनु छ ।

जैविक मल र बिषादीले उत्पादन लागत घटाउनुका साथै रसायनिक मलको भर पर्न नपर्ने न्यौपाने बताउनु हुन्छ । न्यौपाने भन्नुहुन्छ- ‘आँफैले मल बिषादी तयार गरेर खेति गर्दा बर्षेनी बिदेशीने ठुलो धन राशी पनि जोगुनु साथै बातावरणमा सकारात्मक प्रभाब पर्ने छ ।’

https://ujyaalonepalnews.com/archives/28341

Previous articleराष्ट्रपति अस्पताल भर्ना
Next articleप्रधानमन्त्री दाहाल मेलम्चीमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।