जसपाको विधान अधिवेशन सुरु

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आज राजधानीमा सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आज पार्टी अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद अध्यक्ष अशोक राईले अधिवेशनको उद्घाटन गर्नुभएको हो ।
अधिवेशन आजदेखि तीन दिनसम्म सञ्चालन हुने सो पार्टीले जनाएको छ । पार्टीको शनिबार काठमाडौँमा सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुमोदन गरेको पार्टीको विधानको मस्यौदा यसै अधिवेशनमा पेस गरेर छलफल हुन लागेको जनाइएको छ ।
यस अधिवेशनमा केन्द्रीय समितिका चार सय छ सदस्यका साथै प्रदेश समिति, राष्ट्रिय समिति, विषेश प्रदेश समिति, जिल्ला समिति, महानगर, भातृ सङ्गठन तथा केन्द्रीय समितिबाट मानोनित हुने १० जनासहित सात सय ६१ प्रतिनिधि सहभागी छन् ।
सहभागी भएका प्रतिनिधिलाई विभिन्न १० समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ भने छलफल सकिएपछि विधानमाथि नेताहरूले धारणा राख्ने गरी कार्यतालिका बनाइएको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।।

https://ujyaalonepalnews.com/archives/28587

Previous articleकाठमाडौँ महानगरले ल्यायो रु २५ अर्ब ५४ करोड बजेट (पूर्णपाठसहित)
Next articleकमला किनारमा बाढी पर्खिरहेका माझी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।