अनलाइन जुवा खेलाउने यी हुन राजासहितका चार आरोपी

काठमाडौं- अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा बसोबास गर्ने राजा चौधरी समेतका व्यक्तिहरूले वान एक्स बेटबाहेक अन्य विभिन्न अनलाइन क्यासिनो गेम (जुवा)हरुमा अनलाइनमार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी सट्टावाजी गराई खेल खेलाउने गरेको पाइएपछि पक्राउ गरिएको हो ।

गोप्य सूचनाका आधारमा राजा चौधरीलगायतका व्यक्तिहरुको निगरानी राखी खोजतलास गर्दै जाँदा काठमाडौँ महानगरपालिका–१४ कङ्लकीसहित, ठमेल र बालाजु हाइटलगायतका क्षेत्रबाट उनीहरुलाई पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी परिसरमा बुझाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेगमीले बताउनुभयो ।

सोधपुछ गर्दा उनीहरुले मोबाइलमा विभिन्न जुवा खेलाउने अनलाइन प्लेटफर्मको प्रयोग गरी अनलाइन क्यासिनो गेमहरुमा अनलाइनमार्फत नै रकमको बाजी राख्न लगाई सट्टाबाजी गराई खेल खेलाउने गरेको खुलेको छ । उनीहरुले आर्थिक लाभका लागि कुराकानी गरेको अनलाइन विवरणसमेत फेला परेको उहाँले बताउनुभयो ।

पक्राउ परेकाहरुमा बारा जितपुर सिमरा घर भई काठमाडौँको कलङ्की बस्ने २४ वर्षीय राजा चौधरी, सोही ठाउँका विवेक चौधरी, काठमाडौँको ठमेल बस्ने रितेन्द्र प्रधान र नवलपरासी त्रिवेणी सुस्ता गाउँपालिका घर भई काठमाडौँको ठमेल बस्ने आशा गुरुङ रहेका छन् ।

https://ujyaalonepalnews.com/archives/28636

Previous articleजसपा विधान अधिवेशन: ७० वर्षे उमेर हदको प्रस्ताव, एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने
Next articleमाध्यमिक तह कक्षा ११ मा लिइने शुल्कको विवरण पेस गर्न कामपाको निर्देशन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।