गोरखा सदरमुकामबाट करिब ५४ केजीको टल्कने ढुङ्गा बरामद

गोरखा- गोरखामा प्रहरीले टल्कने ठूलो ढुङ्गा बरामद गरेको छ । गोरखा नगरपालिका–७ स्थित सीतपीपलबाट झन्डै ५४ किलोग्रामको टल्कने ठूलो ढुङ्गा बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।

“‘साइन स्टोन’ हो भन्ने जानकारी आएपछि प्रहरीको टोलीले सम्बन्धित घरमा उक्त ढुङ्गा बरामद गरेर ल्याएको छ”, उहाँले भन्नुभयो, “ढुङ्गा पूजाआजा र धर्मकर्ममा प्रयोग गरिरहेको रहेछ, प्रहरीलाई गोप्य ढङ्गबाट सूचना प्राप्त भएपछि घरबाट बरामद गरेर ल्याइएको हो, अहिलेसम्म हामीले हेर्दा बुझ्दा टल्कने ढुङ्गा भन्ने देखिएको छ ।”

ढुङ्गा हेर्दा पारदर्शी ‘क्रिस्टल’ जस्तो रहेको उहाँले बताउनुभयो । “एकातिरबाट ‘लाइट’ बाल्दा भित्रैबाट अर्कोतिर वारपार हुन्छ”, प्रनाउ श्रेष्ठले भन्नुभयो, “अहिलेसम्मको अध्ययनमा ‘साइनिङ स्टोन’ हो भन्ने हाम्रो बुझाइ छ ।”

उहाँले बरामद गरिएको ढुङ्गाका बारेमा भू–गर्भविद्सँग भिडियोमार्फत जानकारी लिएको र भू–गर्भविद्ले बरामद गरिएको वस्तु ‘वाच क्रिस्टल’ भएको हुनसक्ने बताएको जानकारी दिनुभयो । बरामद गरिएको ढल्कने ढुङ्गा चोरी गरिएको नभई पुर्ख्यौलीरूपमा घरमा राखिएको अवस्थामा पाइएको प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो ।

“बरामद गरिएको वस्तु के हो भन्ने कुरा परीक्षणपछि मात्र थाहा हुन्छ”, उहाँले भन्नुभयो, “पुरातात्विक महत्त्वको हो भने राज्यले सङ्ग्रहालय वा अन्य आधिकारिक सरकारी निकायमा पठाउनेछ, बहुमूल्य हो वा होइन भन्ने कुरा परीक्षणपछि मात्र पत्ता लाग्छ, अहिले नै बहुमूल्य भन्ने मिल्ने अवस्था छैन ।”

श्रेष्ठले आफूले पनि पहिलोपटक यस्तो प्रकारको ढुङ्गा देखेको बताउनुभयो । “झट्ट हेर्दा ठूलो ‘आइस’ जस्तो देखिन्छ”, उहाँले भन्नुभयो, “उक्त ढुङ्गा बिक्री वितरण हुँदैछ भन्नेसम्मको सूचना हामीलाई प्राप्त भएको थियो, त्यसको आधिकारिताबारे पनि अनुसन्धान गर्दैछौँ ।”

https://ujyaalonepalnews.com/archives/28710

Previous articleअदालतका कर्मचारी कुटपिट गरेको आरोपमा वकिल पक्राउ
Next articleआज राष्ट्रिय धान दिवस, दही च्यूरा खाँदै रोपाइँ गरिँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।