प्रविधिको सहयोगले मिल्यो तत्कालै नतिजा

0
64

काठमाडौँ- कागेश्वरी मनोहरा मूलपानीस्थित महाकवि देवकोटा मेमोरियल माध्यमिक विद्यालयका विद्यार्थी उद्धव शर्मालाई माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्राप्त गर्न कुनै गाह्रो अनुभव भएन ।

परीक्षाफल सार्वजनिक भएको केही मिनेटमै शर्माले सहजरूपमा राष्ट्रिय परीक्षा बोर्डबाट नतिजा प्रकाशन गर्न सूचीकृतमध्येको एक इकान्तिपुर डटकममार्फत नतिजा थाहा पाउनुभयो । “एसइई परीक्षाको नतिजा आएको एक मिनेटभित्रै नतिजा थाहा पाएँ”, उहाँले भन्नुभयो ।

प्रविधिले हरेक क्षेत्रमा सहजता ल्याएजस्तै परीक्षाको नतिजा हेर्न पनि निकै सहज भएको छ । शर्माले विद्यार्थीहरूले छिटो र छरितोरूपमा आफूजस्तै धेरै साथीले नतिजा हेरेको सुनाउनुभयो । ३.६ जिपिए प्राप्त गरेका शर्माले भविष्यमा सिभिल इञ्जिनीयर बन्ने योजना रहेको सुनाउनुभयो ।

डिल्ली बजारस्थित विजय स्मारक माविका विद्यार्थी विराज अधिकारीले पनि परीक्षाफल सार्वजनिक भएको केही मिनेटमै सहजरूपमा नतिजा हेर्न पाउनुभयो । उहाँले राष्ट्रिय परीक्षा बोर्डबाट नतिजा प्रकाशन गर्न सूचीकृतमध्येको इडियुसञ्जाल डटकममार्फत नतिजा थाहा पाउनुभयो ।

“प्रविधिको सहजताले परीक्षा नतिजा पाउन सहज भएको छ, यसले आफूजस्ता विद्यार्थीहरूलाई समयमै सहजरूपमा नजिता हेर्न सकिएको छ”, अधिकारीले भन्नुभयो । एसइई मा ३.४५ जिपीए हासिल गरेका अधिकारीले कुन विषय अध्ययन गर्ने र भविष्यमा के भन्ने भन्ने अहिले नै टुङ्गो लागि नसकेको बताउनुभयो ।

रानीबारीका दृश्य बस्नेतले पनि एसइईको परीक्षाफल सार्वजनिक हुने वित्तिकै इकान्तिपुर डटकममार्फत नतिजा थाहा पाउनुभयो । बसुन्धारास्थित साउथ वेस्टर्न स्कुलका विद्यार्थी बस्नेतले ३.७ जिपिए ल्याउनुभएको छ । प्रविधिले सहजरूपमा छिटो परीक्षाफल प्राप्त गर्न पाउँदा आफू निकै हर्षित भएको अनुभव सुनाउनुभयो । सोह्र वर्षीय बस्नेतको भविष्यमा कम्प्युटर इञ्जिनियर बन्ने योजना रहेको छ ।

बूढानीलकण्ठ–४ पासिकोटको नवज्ञान भूमि बोर्डिङ हाइस्कुलकी विद्यार्थी नतिजा लिम्बूले परीक्षाफल प्रकाशित भएको क्षणभरमै नतिजा थाहा पाउनुभयो । बोर्डको वेबसाइटमार्फत नतिजा थाहा पाउनुभएकी लिम्बूले प्रविधिले सहजरूपमा चाँडो नतिजा पाउन सम्भव भएको अनुभव सुनाउनुभयो । एसइईमा ३.६५ जिपीए ल्याएकी लिम्बूले कक्षा ११ मा विज्ञान विषय लिई अध्ययन गर्ने योजना रहेको बताउनुभयो ।

यी प्रतिनिधि विद्यार्थीजस्तै सहरदेखि गाउँकुनासम्म (सञ्चार सुविधा भएका स्थानमा) विद्यार्थीलाई एसइईको नतिजा थाहा पाउन प्रविधिको माध्यमबाट सहज भएको छ । नेपाल टेलिकमले २०७९ सालको एसइई परीक्षाको नतिजा आईभीआर, एसएमएस तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने व्यवस्था गरेको थियो । यसले विद्यार्थी र अभिभावकलाई लागि आफ्ना छोराछोरीको परीक्षाफल हेर्न निकै सहज भएको थियो ।

कुनै बेला प्रवेशिका परीक्षाको नतिजा थाहा पाउन साता दिनसम्म लाग्दथ्यो । सञ्चार माध्यम र प्रविधिको पहुँच नहुँदा ढिलो गरी परीक्षाको परिणाम थाहा पाउनुपर्ने बाध्यता थियो । गोरखापत्रमा प्रकाशित भएको नतिजा जिल्ला जिल्लामा पुग्न सात दिनभन्दा बढी लाग्दथ्यो । अहिले प्रविधिको सहजताले क्षणभरमै परीक्षाको नतिजा थाहा पाउन सहज भएको हो ।

नेपाल टेलिकका प्रवक्ता सोभन अधिकारीले प्रविधिको पहुँचले विद्यार्थीलाई परीक्षाको नतिजा चाँडै थाहा पाउन सहज भएको बताउनुभयो । उहाँका अनुसार टेलिकमले अरु एजेन्सीमार्फत पनि परीक्षाको नतिजा हेर्न पाउने व्यवस्था मिलाएको थियो ।

टेलिकमले राष्ट्रिय परीक्षा बोर्डबाट प्रकाशित भएको एसइई परीक्षाको नतिजा प्राप्त गर्नका लागि विभिन्न व्यवस्था गरेको थियो । नतिजाका लागि टेलिकमको ल्यान्डलाइन वा मोबाइल फोन प्रयोग गर्न सकिन्थ्यो ।

यसअनुसार सिधै १६०० डायल गरी प्राप्त निर्देशनअनुसार गरेमा नतिजा थाहा पाउने व्यवस्था गरेको थियो । एसइई नतिजाका लागि १६०० मा डायल गर्दा प्रति कल करबाहेक जम्मा रु २ मात्र महशुल निर्धारण गरेको टेलिकमले जनाएको छ । यसरी दुई मिनेटको समयावधिलाई एक कल मानिएको थियो ।

प्रवक्ता अधिकारीले राष्ट्रिय परीक्षा बोर्डबाट रोयल्टी तिरेर विभिन्न माध्यममार्फत एजेन्सीमार्फत सहजै नतिजा हेर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । “प्रविधिको माध्यम जति बढ्यो त्यती सहजता भएको छ, परीक्षाको नतिजाजस्तै विभिन्न सेवामा छिटो र छरितो ढङ्गले सेवा प्रवाह गर्न टेलिकमले प्रयास गरिरहेको छ”, उहाँले भन्नुभयो ।

त्यसैगरी मोबाइलको म्यासेज बक्समा अङ्ग्रेजी अल्फाबेट एसइई लेखेर खाली ठाउँ छोडी सिम्बल नम्बर (SEE) टाइप गरी १६०० मा सन्देश पठाएर पनि नतिजा थाहा पाउन सकिन्छ । उदाहरणका लागि SEE 12345678A टाइप गरी १६०० मा सन्देश पठाउन सकिन्छ ।

१६०० मा सन्देश पठाउँदा पनि प्रतिसन्देश करबाहेक जम्मा रु २ मात्र महसुल लाग्नेछ । नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np/ मार्फत पनि मार्कसिटसहितको नतिजा प्राप्त गर्न सकिन्छ ।

नतिजा प्रकाशित भएको केही समयपछि नै यसको उपयोग गर्न सकिन्छ । यसबाट सम्पूर्ण विद्यार्थी वर्ग लाभान्वित हुने कम्पनीको अपेक्षा छ । एसइईको नतिजा आउने भन्ने थाहा पाएलगत्तै विद्यार्थी तथा अभिभावक जति सक्दो छिटो नतिजा हेर्न पाए हुन्थ्यो भनेर आतुर हुन्छन् तर नतिजा कसरी छिटो थाहा पाउन सकिन्छ भन्ने जानकारी नहुँदा धेरै अभिभावक तथा विद्यार्थी यताउता भौँतारिने गर्छन् ।

राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको एसइई परीक्षाको नतिजा सहजै हेर्ने व्यवस्था गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । यसका लागि विद्यार्थीले वेबसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

एसइईको नतिजा एसएमएस र इन्टरनेटको माध्यमबाट हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा नतिजा हेर्न सक्ने व्यवस्था गरेको उहाँले बताउनुभयो ।

एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरिएको छ । नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np मा पनि हेर्न सकिने बोर्डले जनाएको छ ।

त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np, नेपाल टेलिकमको www.see.ntc.net.np, सहित अनुमति लिएका विभिन्न साइट र अनलाइनबाट नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले विसं २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफल बिहीबार दिउँसो प्रकाशित गरेको थियो ।

https://www.ujyaalonepalnews.com/archives/28970

Previous articleसबै सरकारी विज्ञापनलाई समानुपातिक रुपमा वितरण गर्नुपर्नेमा सरोकारवालाको जोड 
Next articleमहाकाली सिँचाइ मूल नहरमा पानी परीक्षण गरिँदै