प्राधिकरणले कर नतिरे महानगरले फोहोर उठाउँदैन– महानगर प्रमुख कोइराला

मोरङ- विराटनगर महानगरपालिकाले फोहोर नउठाएपछि विराटनगरस्थित नागरिक उड्डयन प्राधिकरण (विराटनगर विमानस्थल) महानगरलाई सबै किसिमको कर तिर्न तयार भएको छ ।

प्राधिकरणका विराटनगर प्रमुखसहितको टोलीले महानगर प्रमुख नागेश कोइरालालाई भेटेर एक महिनाभित्र व्यवसाय, बहाललगायतका कर तिर्ने र नक्सा पास नभएका भवनको नक्सा पास गर्ने प्रतिबद्धता जनाएको छ ।

राजस्व महाशाखा प्रमुख सरोज गौतम, वातावरण तथा सरसफाई शाखा प्रमुख पुनमकुमार दाहाल, महानगर प्रहरीका प्रमुख राजन पौडेललाई साथैमा राखेर प्रमुख कोइरालाले प्राधिकरणको प्रतिबद्धता माग्नुभएको थियो ।

प्रमुख कोइरालासितको भेटमा प्राधिकरणको टोलीले एक महिनाको समय मागेको थियो । एक महिनाभित्र पनि नक्सा पास नगर्ने र महानगरलाई तिर्नुपर्ने कर नतिरे फोहोर नउठाउनुका साथै निर्माणाधीन टर्मिनल भवनमा सामान लाने सडकसमेत बन्द गरिदिने कोइरालाले चेतावनी दिनुभयो ।

महानगरवासीले तिरेको करबाट बनाएको सडकमा टर्मिनल भवन निर्माणका लागि सडकको क्षमताभन्दा बढी भार भएका मालबाहक सवारी महानगरको सडकबाट प्रवेश गर्ने गरेको प्रमुख कोइरालाले बताउनुभयो ।

प्रमुख कोइरालाले प्राधिकरणले सटर भाडा लगाएर आम्दानी गर्ने, जहाज पार्किङ गरेबापत भाडा लिने, सेवा लिएबापत यात्रुसित कर लिने तर महानगरलाई अहिलेसम्म कुनै किसिमको कर नतिर्नु आपत्तिजनक भएको बताउनुभयो ।

उहाँले स्थानीय सरकार सञ्चालन ऐनले तोकेको र संविधानले दिएको अधिकार प्रयोग गरेर जुनसुकै निकायलाई पनि करको दायरामा ल्याइछाड्ने प्रतिबद्धता जनाउनुभयो ।

https://ujyaalonepalnews.com/archives/29016

Previous articleरत्ननगरमा कांग्रेसको संगठन सुदृढिकरण सम्बन्धी प्रशिक्षण
Next articleस्वास्थ्यमन्त्री बस्नेत र प्रधानसेनापतिद्वारा मेलम्ची बेलीब्रिजको उदघाटन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।