बागमती प्रदेशद्वारा दुग्ध किसानलाई अनुदान

चितवन, २४ असार । बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा दुग्ध किसानलाई ३० करोड अनुदान दिएको छ । प्रदेशभित्रका दुई सय २२ सहकारीमार्फत किसानलाई प्रतिलिटर ३ रुपैयाँ ५३ पैसाका दरले अनुदान दिएको हो ।

मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेका अनुसार गत आर्थिक वर्षमा १६ करोडमात्रै प्रतिलिटर एक रुपैयाँ ६३ पैसाका दरले वितरण गरिएको थियो । प्रदेशले आव २०७५/७६ मा कार्यविधि बनाएर दुग्ध उत्पादक किसानलाई अनुदान दिन सुरु गरेको हो । कार्यविधिमा दोहोरो नपर्ने गरी अनुदान दिन सकिने व्यवस्था रहेको छ ।

यसै कारण स्थानीय पालिकाले अनुदान दिएका चितवनका तीन पालिकाका किसानलाई अनुदान दिन नसकिएको उनले जानकारी दिए । भरतपुर, राप्ती र माडी नगरपालिकाका ७० वटा सहकारीका किसानलाई अनुदान दिन नसकिएको उनले बताए । उनले भने, “चाहेर नभएर कार्यविधिले रोकेर दोहोरो अनुदान दिन सकिएन ।” कार्यविधिमा त्यो व्यवस्था नभएको भए अनुदान दिन सकिने उनको भनाइ छ ।

भरतपुर महानगरपालिकाले प्रतिलिटर रु तीन, माडी नगरपालिकाले रु चार र राप्ती नगरपालिकाले ५० पैसा अनुदान दिँदै आएका छन् । अनुदान रकम दोहोरो परेर रोकिएपछि किसान भने आन्दोलित भएका छन् । अनुदानका लागि किसानलाई बैंक खातासमेत खोल्न लगाएर अन्तिम समयमा अनुदान रोकेको किसानको गुनासो छ । उनीहरूले कार्यविधि सच्याएर भए पनि अनुदान दिनुपर्ने माग गरेका छन् । रासस

https://ujyaalonepalnews.com/archives/29064

Previous articleकाठमाडौँ महानगरपालिकाद्वारा छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु
Next articleसार्वजनिक खरिद अनुगमन कार्यालयले २४ कम्पनीलाई सोध्यो स्पष्टीकरण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।