मिटरब्याजसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित

0
75

प्रतिनिधिसभाले अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी विधेयक (मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक) पारित गरेको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, ०८० संशोधनसहित सर्वसम्मतिले पारित गरेको हो ।

ad
विधेयक पारित भएसँगै उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामन्ती शोषणको यसप्रकारको अवशेषलाई अन्त्य गर्न चाहान सबैलाई हार्दिक बधाइ ज्ञापन गरेका छन् । ‘विधेयक पारित गर्न भूमिका खेल्नु हुने प्रतिनिधि सभाका सबै माननीय सदस्यहरू र संसदलाई बिनम्रतापूर्वक धन्यवाद प्रकट गर्दछु,’ उनले भने ।

गृहमन्त्री श्रेष्ठले यो ऐन निर्माणले मिटरब्याजपीडितलाई न्याय दिलाउने अभियानलाई सफल पार्न बलियो आधार प्रदान गरेको बताए । ‘यद्यपि यससन्दर्भमा अझै सचेततापूर्वक मेहनत गर्नु जरुरी छ । न्यायको पक्षमा दृढतापूर्वक अघि बढौँ,’ उनले भने ।

विधेयक पास गर्ने क्रममा सरकारले कारोबार भएको वास्तविक रकम र कानुन बमोजिम ब्याज दिलाउने संशोधन स्वीकार गरेको छ । राष्ट्रिय सभाबाट पारित भइसकेको यो विधेयक अब पुनः राष्ट्रिय सभामा जानेछ । प्रतिनिधिसभाले गरेको संशोधन राष्ट्रिय सभाले स्वीकार गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाउनेछ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुन बन्ने छ ।

https://www.ujyaalonepalnews.com/archives/29338

Previous articleडिजेल-पेट्रोल र ग्यासकाे मूल्य घट्याे
Next articleबिम्स्टेकमा विदेश मन्त्रीबीच सहयोग सुदृढ पार्ने उपायबारे छलफल