उद्योग वाणिज्य संघ–चितवनका सदस्यले पूरानो मेडिकल कलेजमा छुट पाउने

२ असार, भरतपुर- उद्योग वाणिज्य संघ–चितवनका सदस्य उद्योगी व्यवसायीलाई कलेज अफ मेडिकल साईन्स टिचिङ हस्पिटल भरतपुर (पुरानो मेडिकल कलेज) ले स्वास्थ्य सेवामा सहुलियत दिने भएको छ । उद्योग वाणिज्य संघ–चितवन र हस्पिटल बिच सोमबार छुट दिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

उद्योग वाणिज्य संघ–चितवनले संघको संस्थागत उत्तरदायित्व अन्तर्गत रहि संघमा आवद्ध सदस्य व्यवसायीलाई छुट दिने व्यवस्था गरिएको संघका अध्यक्ष चुननारायण श्रेष्ठले बताए। सम्झौता पत्रमा हस्ताक्षर गर्दै श्रेष्ठले आफ्ना सदस्यलाई दिने सेवा सुविधा बृद्धि गर्नको लागि संघ प्रयत्नशिल रहेको बताउँदै स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराउने कलेज अफ मेडिकल साईन्स टिचिङ हस्पीटल भरतपुर लाई आभार व्यक्त गरे ।

कार्यक्रमममा कलेज अफ मेडिकल साईन्स टिचिङ हस्पीटल भरतपुरका निर्देशक मनोहर प्रधानले उद्योग वाणिज्य संघ–चितवनमा आवद्ध सदस्यलाई सेवा सुविधा दिन पाउँदा खुशी लागेको बताउँदै आगामी दिनहरूमा पनि यस किसिमका छुट उपलब्ध गराउंदै लैजाने बताए ।

सहुलियत सुविधा प्राप्त गर्नको लागि उद्योग वाणिज्य संघ–चितवनमा आवद्ध सदस्यहरूले संघबाट उपलब्ध गराईएको सदस्यता परिचय पत्र देखाउनु पर्ने छ र संघको सदस्यता नवीकरण भएको हुनुपर्ने संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए । निर्देशक के.सीले संघले अन्य व्यवसायिक प्रतिष्ठानहरूमा समेत सदस्यको लागि छुट सेवा उपलब्ध गराउन तयारी भईरहेको बताए ।

सदस्यहरूले ओ.पि.डि. सेवामा २५ प्रतिशत, आई.पि.डी. सेवामा १५ प्रतिशत, रेडियोलोजी सेवामा १० प्रतिशत र फार्मेसीमा ५ प्रतिशत छुट पाउने संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले बताए । साथै सदस्य व्यवसायीका परिवारका अन्य सदस्यहरूले समेत सो सुविधा प्राप्त गर्ने कलेज अफ मेडिकल साईन्स टिचिङ हस्पीटल भरतपुरका निर्देशक मनोहर प्रधानले बताए ।

सम्झौता पत्रमा संघका अध्यक्ष चुननारायण श्रेष्ठ र कलेज अफ मेडिकल साईन्स टिचिङ हस्पीटल भरतपुरका निर्देशक मनोहर प्रधानले हस्ताक्षर गरेका हुन् । सम्झौतामा हस्ताक्षर कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदी, कार्यसमिति सदस्य नारायण प्रधान, लिलबहादुर क्षेत्री, कार्यकारी निर्देशक निलबहादुर केसी, कलेज अफ मेडिकल साईन्स टिचिङ हस्पीटल भरतपुरका दुर्गाप्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

संघमा आवद्ध सदस्यहरूले यसअघि पनि नारायणी सामुदायिक हस्पीटल र चितवन मेडिकल कलेजमा पनि छुट सुविधा पाईरहेका संघले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/29426

Previous articleशोकको घडीमा सबैको साथ र सद्‍भावले पीडाबाट निस्कन मद्दत गर्‍योः प्रधानमन्त्री दाहाल
Next articleनावालिकालाई सामुहिक बलात्कार गर्ने चारजना पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।