Home Uncategorized घरघरमै अरिङ्गाल पालनः आम्दानीको बैकल्पिक स्रोत बन्दै

घरघरमै अरिङ्गाल पालनः आम्दानीको बैकल्पिक स्रोत बन्दै

गोरखा- गोरखाको शहिद लखन गाऊँपालिकाका विभिन्न ठाऊँका किसानले घर घरमै अरिङ्गाल पाल्न थालेका छन् । वडा नम्वर ४, ५ र ६ का केही किसानले अरिङ्गालले जंगलमा बनाएको गोलालाई घर छेऊमा लगेर पाल्ने गरेका हुन् ।

अरिङ्गालको लार्भा तारेर सितनको रुपमा खानेहरु बढ्दै गएपछि आयआर्जनको वैकल्पिक स्रोतका रुपमा सो क्षेत्रका किसानले अरिङ्गाल पाल्न थालेका हुन् । शहिद लखन गाऊँपालिका ६ घैरुङका बिनोद थापामगरले विगत १५ वर्षदेखि अरिङ्गाल पाल्ने र त्यसको लार्भा बेचेर आम्दानी गर्दै आउनुभएको छ । शरीरलाई तागत दिन्छ भनेर अरिङ्गालको लार्भा तारेर खानेहरुको संख्या बढ्दै गएको उहाँको भनाई छ ।

गोलाभित्र अरिङ्गालको बच्चा हुर्केपछि बिक्री गरेर आयआर्जन गर्ने उदेश्यले घर आसपासमा लगेर पाल्न थालिएको उहाँले बताउनुभयो । उहाँले आँगन छेऊका रुख र टौवामा डेढ महिनादेखि अरिङ्गालको ११ वटा गोला हुर्काइरहनु भएको छ । आगामी असोजसम्ममा गोला पोलेर त्यसभित्र रहेको लार्भा बिक्री गर्ने उहाँको योजना छ ।

अरिङ्गालको बच्चा अर्थात लार्भा एक मानाको १५ सयदेखि २ हजार रुपैयाँसम्ममा बिक्री हुने थापामगरको भनाई छ । ‘एउटा गोलाबाट २ पाथीसम्म लार्भा निस्किन्छ, मान्छेहरु खोज्दै घरमै आइपुग्छन् कहाँ लगेर बेच्ने भन्ने समस्या छैन’ उहाँले भन्नुभयो ।

तर थापामगरका अनुसार जंगलमा अरिङ्गालले बनाएको गोलालाई घर छेऊमा सार्न भने त्यति सजिलो छैन । ‘पहिलो कुरा त जंगलमा गोला फेला पार्नै सजिलो छैन, फेरि दिउँसो भन्दा रातको समयमा गोला बनाएको हाँगा काट्न सजिलो हुन्छ’ उहाँ भन्नुहुन्छ, ‘गोरखामा एउटा सानो ढोका हुन्छ, राति सबै अरिङ्गाल गोलाभित्र बसेपनि ढोका छेऊमा गार्ड जसरी केही अरिङ्गाल बसेका हुन्छन् ।

रुखमा चढेर पहिला गोलाको ढोका बन्द गर्ने अनि हाँगा काटेर घरछेऊको हाँगाबिँगामा ल्याएर राखेपछि ढोका खोलिदिने ।’ यति गरेपछि अरिङ्गालले क्रमशः बच्चा हुर्काउँदै जान्छ । यसैगरी जति जति अरिङ्गालको संख्या बढ्दै जान्छ गोलाको आकार पनि त्यति ठूलो हुँदै जान्छ ।

अरिङ्गालको गोलाको आकार हेरेर योभित्र बस्ने अरिङ्गालहरू धेरै थोरै के छन् भनेर सजिलै अनुमान लगाउन सकिने थापामगरले बताउनुभयो । अरिङ्गालहरु एउटा गोलामा एक वर्षसम्म बस्ने उहाँको भनाई छ । तर बच्चा हुर्केपछि बिक्री नहुने भएकाले त्यसको ख्याल गरेर गोला पोल्नुपर्ने उहाँले बताउनुभयो ।

अरिङ्गालको गोलाबाट लार्भा निकालेर बिक्री गर्नका लागि गोलाभित्र रहेका माउहरु सबै आगोले पोलेर जलाउने गरिन्छ । बच्चा अरिङ्गाल सितनको रुपमा खाने र माऊलाई जलाएर मार्नाले अरिङ्गालको संख्या भने घट्दै जान थालेको छ ।

https://ujyaalonepalnews.com/archives/29449

Previous articleबिना पूर्वाधार होमस्टे सञ्चालन गरिंदा स्याङ्जाका अधिकांश होमस्टे बन्द
Next articleशिवखोलामा ट्रक दुर्घटना, ट्रक भित्रै च्यापिएका घाइते चालकको उद्दार प्रयास जारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।