रत्ननगर, साउन ३ । चितवनको कालिका नगरपालिकाले नगर भित्रका दुईवटा सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । बुधवार एक कार्यक्रमका बिच कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीले उक्त बसको चाबी (साँचो) हस्तान्तरण गरेका हुन् ।
कालिका नगरपालिकामा रहेका जमुनापुर माध्यमिक विद्यालय र माध्यमिक विद्यालय रेडक्रस ग्रामलाई बस हस्तान्तरण गरेको हो । मेयर रेग्मीले शिक्षामा गरेको लगानीले दिगो प्रतिफल दिने भएकोले विद्यालयलाई सत प्रतिशत अनुदानामा बस दिने योजनालाई कार्यान्वयन गरिएको बताए ।
उनले भने, “जबसम्म विद्यालयमा विद्यार्थीहरुलाई आउँ जाउँ गर्नका लागि सहज वातावरण हुदैन तबसम्म शिक्षालाई अगाडी बढाउन सकिदैन । विद्यार्थीहरुको सहजताका लागि बस हस्तान्तरण गरेको उनले बताए । सामुदायिक विद्यालयहरुमा अभिभावक, शिक्षक, विद्यार्थी, नगर प्रतिनिधिहरुको चाहना अनुसार स्कुल बस हस्तान्तरण गर्न सफल भयौँ उनले भने ।
‘सामुदायिक विद्यालयहरुलाई सुविधासम्पन्न बनाई शैक्षिक गुणस्तर सुधार गर्न र विद्यार्थीलाई विद्यालयसम्म सहज पहुँचका लागि हाम्रो कामले महत्वपूर्ण भुमिका प्रदान गर्नेछ,’ उनको भनाइ छ । हस्तान्तरण गरिएको बसको सहि सदुपयोग गर्दै दिगो सञ्चालनको लागि कार्यविधि बनाउन सुझाव दिए । चालक, सहचालक, इन्धन खरिद, बसको मर्मत सम्भार र रेखदेखमा विद्यालयले नै चासो दिनुपर्ने बताए ।
नगरपालिकाले शिक्षाको क्षेत्रमा रु. २१ करोड रुपैँया लगानी गरिएको बताउँदै अन्य विद्यालयहरुलाई बस हस्तान्तरण गर्ने योजना बनाएको बताए । दुईवटा बस खरिदका गर्नका लागि रु ४७ लाख १२ हजार र १ लाख २८ हजार ७० रुपैँया खर्च भएको उनले बताए ।

कालिका वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मीले हसतान्तरण गरिएको बस सहि समयमा सदुपयोग गर्दै सञ्चालन गर्नुपर्ने विद्यालयलाई सुझाव दिए । स्कुल बसले विद्यार्थीको पहुँच बढ्ने र विद्यार्थीलाई सुरक्षित महशुस गर्ने जिकिर गरे । सामाजिक विकास समितिका संयोजक एंव नगर शिक्षा समितिका सदस्य मकरमान श्रेष्ठले स्कुल बस हस्तान्तरणसँगै सामुदायिक विद्यालयको गुणस्तरमा सुधार आउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा माध्यमिक विद्यालय रेडक्रस ग्राम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, तुल वहादुर वि.क, जमुनापुर माध्यमिक विद्यालयकी प्राध्यानाध्यापक गीता नेपाली लगाएतले मन्तव्य राखेका थिए ।
https://ujyaalonepalnews.com/archives/29472


