आज ५८औँ रक्तसञ्चार दिवस मनाइँदै

काठमाडौं- देशभर आज ५८औँ रक्तसञ्चार दिवस मनाइँदैछ । हरेक वर्ष साउन १२ गते रक्तसञ्चार दिवस मनाइँदै आएको छ ।

विसं २०२३ साउन १२ गते नेपाल रक्तसञ्चार सेवा स्थापना भएको थियो । रक्तसञ्चार केन्द्रहरूले दिवसका अवसरमा रगत सङ्कलनदेखि वितरणसम्मका कार्य गर्दै आएका छन् । केन्द्रीय रक्तसञ्चार केन्द्रले दिवसका अवसरमा रक्तदान, रक्तदाता सम्मान कार्यक्रम तथा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आएको छ ।

यस वर्ष पनि रगत दानका लागि उत्प्रेरणाका कार्यक्रम आयोजना गरिएको केन्द्रका निर्देशक दिव्यराज पौडेलले बताउनुभयो । केन्द्रको गत वर्षको तथ्याङ्कानुसार नेपालमा वर्षीक चार लाख ५० हजार युनिट रगत आवश्यक पर्छ । मागको ९० प्रतिशतभन्दा बढी रगत नेपाल रेडक्रसको नेटवर्कबाट वितरण हुने निर्देशक पौडेलले जानकारी दिनुभयो ।

‘सुलभ, गुणस्तरीय र मर्यादित सेवा, नेपालको रक्तसञ्चार सेवा’ नाराका साथ केन्द्रले सेवा उपलब्ध गराउँदै आएको छ । अहिले देशभर एक सय १९ रक्तसञ्चार केन्द्र छन् । त्यसमा रेडक्रसका प्रमुख निकाय केन्द्रीय रक्तसञ्चार सेवासँगै पाँच प्रदेशमा प्रादेशिक रक्तसञ्चार सेवा र २४ जिल्लामा जिल्लास्तरीय रक्तसञ्चार सेवा छन् ।

केन्द्रीय रक्तसञ्चार केन्द्रका निर्देशक पौडेलका अनुसार रगतसँगै रक्ततत्वको बढ्दो मागसँगै रक्तदाताको सङ्ख्या बढाउन, रगत परीक्षणमा नयाँ प्रविधिको प्रयोग गर्न, रक्त सेवा शुल्कको एकरुपता, रक्तसञ्चार केन्द्रको आर्थिक सवलीकरण र दीर्घकालीन सेवा प्रवाह चुनौतीको रूपमा रहेका छन् । यस्तै रगतको चिकित्साजन्य प्रयोग चुनौतीका रूपमा रहेको छ । नियमितरूपमा रक्तदाताको सङ्ख्या बढाउन साझेदार निकायले आह्वान गर्दै आएका छन् ।

https://ujyaalonepalnews.com/archives/29765

Previous articleप्रधानमन्त्री दाहाल आज स्वदेश फर्कँदै
Next articleसार्कको प्रभावकारिताका लागि सदस्य राष्ट्रबीच सहकार्य महत्त्वपूर्ण: उपराष्ट्रपति
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।