वुहानबाट नेपालीको उद्धारमा सरकारको तदारुकता : १ सय ८० लाई आइतबारसम्म ल्याई व्यवस्थापन गरिने

0
39

आज बाइडबडी विमान पठाइँदै
काठमाडौं । सकारले कोरोना भाइरस संक्रमण प्रभावित क्षेत्र चीनको हुबेईस्थित वुहानमा रहेका नेपाली नागरिकको उद्धारका लागि आज(शनिबार) बाइडबडी विमान त्यसतर्फ पठाउँदै छ । शनिबार दिउँसो ३ बजे उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज हुवेईका लागि उडान गर्ने र आइतबार बिहान २ बजे काठमाडौं आइपुग्ने तालिका बनाइएको छ । आइतबार बिहानसम्म वुहानमा रहेका नेपालीलाई काठमाडांै ल्याइसकिने छ । यससँगै लामो समयदेखि वुहानमा त्रासमा रहेका नेपालीहरूले राहत महसुस गर्नेछन् ।

उद्धारका लागि क्रु मेम्बर र चिकित्सकसहित १७ जनाको टोली खटिने बताइएको छ । नेपालीको उद्धार गर्न चीन जाने टोलीका सदस्य टुंगो लगाइएको नेपाल एयरलाइन्सले जनाएको छ । नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत त्यहाँका १ सय ८० नेपालीलाई नेपाल ल्याउन लागिएको हो
टोलीमा तीन जना पाइलट र सात जना क्रु मेम्बर रहनेछन् । यस्तै, १ इन्जिनियर, १ प्राविधिक र १ डिस्पास्चर रहनेछन् । सो टोलीमा चार जना नेपाली सेनाका चिकित्सकसमेत रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विमान चार्टर गरी नेपालीको उद्धार गर्न लागिएको हो ।

यसैबीच, स्वाथ्य मन्त्रालयले वुहानदेखि खरिपाटी क्वारेन्टाइनसम्म आउँदा नेपालीले ध्यान दिनुपर्ने ५३ बुँदे योजना सार्वजनिक गरेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार वुहानबाट नेपाल आउने नागरिकका लागि ध्यान दिनुपर्ने विषय समेटिएको छ ।

व्यक्तिगत कागजात तथा सामानको उचित व्यवस्थापन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । व्यक्तिगत कागजात तथा सामानमा एउटा विषेश कोड नम्बर अंकित गरी गोपनीयता कायम गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मका लागि चीनबाट आउन लागेका नेपाली नागरिककका लागि आवश्यक खानाको व्यवस्था सिटमा नै गरिएको छ । सम्पूर्ण उडान अवधिभर मास्क लगाउनुपर्नेछ ।
ज्वरो आउने, खोकी लाग्ने, श्वासप्रश्वासमा अप्ठेरो हुनेजस्ता लक्षण भएमा जहाज दलका सदस्य वा स्वास्थ्य टोलीका सदस्यलाई जानकारी गराउनुपर्नेछ । आवश्यकताअनुसार विमानको तोकिएको सिटमा सार्न सकिने व्यवस्था मिलाइएको छ ।

संक्रमित भएको शंका लागेका यात्रुहरूलाई जहाजको पछाडिको ढोकाबाट बाहिर ल्याइनेछ । संक्रमित नभएका यात्रुहरूलाई जहाजको अघिल्लो ढोकाबाट बाहिर ल्याइने व्यवस्था मिलाइएको छ । जहाजबाट उत्रँदा क्रमशः एक आपसमा एक मिटरको दूरी कायम गर्नुपर्नेछ । काठमाडांै विमानस्थलमा पाँचवटा हेल्थ स्क्रिनिङ डेस्कको व्यवस्था मिलाइएको छ ।
संक्रमण देखिए अस्पताल लगिने

प्रत्येक स्क्रिनिङ टिममा तालिम प्राप्त मेडिकल अफिसर, नर्स र प्यारामेडिक्स गरी दुई जनाको समूह रहेको छ । संक्रामक रोगको आशंका गरिएका व्यक्तिलाई तयारी अवस्थामा राखिएको एम्बुलेन्समा राखेर शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल वा पाटन अस्पताल वा सशस्त्र प्रहरी अस्पतालमध्ये कुनै एक अस्पतालको आइसोलेसन वार्डमा उपचारका लागि लगिने व्यवस्था मिलाइएको छ ।

संक्रमण नभएकालाई सिधै खरिपाटी

संक्रमण नभएका यात्रुहरूलाई तोकिएको बसमा राखेर क्वारेन्टाइन स्थान खरिपाटीमा लगिनेछ । लगेजहरू सुरक्षित रूपमा बसमा राखेर क्वारेन्टाइन केन्द्रमा लगिने बताइएको छ । विमानस्थलवाट क्वारेन्टाइन केन्द्र खरिपाटी लैजान पाँचवटा बसको व्यवस्था मिलाइएको छ ।

क्वारेन्टाइनमा करिब ६० कोठाहरूमा उचित दूरीको फरकमा एक जनादेखि तीन जनासम्मको सामूहिक बसोबासको व्यवस्था मिलाइएको छ । स्वास्थ्य टोली आवश्यकताअनुसार २४सैं घण्टा परिचालन गरिनेछ । विशेष स्वास्थ्य जाँचका लागि क्लिनिकको व्यवस्था मिलाइएको छ ।

व्यक्ति स्वंयले स्वजाँच गर्न मिल्ने थर्मोमिटरको माध्यमबाट प्रत्येक व्यक्तिको दिनको दुईपटक तापक्रम जाँचगरी अभिलेख राखिनेछ । हरेक व्यक्तिको ज्वरो नाप्न छुट्टाछुट्टै थर्मोमिटरको व्यवस्था गरिएको छ ।
क्वारेन्टाइन रहेका व्यक्तिहरूमा शंकास्पद लक्षण देखिएमा थप परीक्षण तथा उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल वा पाटन अस्पताल वा सशस्त्र प्रहरी अस्पतालमा स्थानान्तरण गरिनेछ ।

क्वारेन्टाइनमा रहँदा अभिभावकहरूसँग प्रत्यक्ष रूपमा भेटघाट गर्न दिइनेछैन । वुहानदेखि काठमाडौंसम्मको हवाई यात्राका क्रममा, विमानस्थलमा, विमानस्थलदेखि क्वारेन्टाइनसम्म जाने क्रममा, हेल्थ डेस्कमा, क्वारेन्टाइनमा रहँदा केके कुरामा ध्यान दिने भन्ने विषय बुँदागत रूपमा सार्वजनिक गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।

The post वुहानबाट नेपालीको उद्धारमा सरकारको तदारुकता : १ सय ८० लाई आइतबारसम्म ल्याई व्यवस्थापन गरिने appeared first on Rajdhani Daily News.

झापाको कनकाईमा धेरै कर तिर्ने करदातालाई उपहार

Previous articleविजयले ‘सुसाइड नोट’ नछोड्दा खुलेन सानेपा हत्याको रहस्य
Next articleकर्णाली राजमार्गमा रिफ्रेस सेन्टर निर्माण गरिने