थोरै क्षेत्रफलमा धेरै बाघ

कञ्चनपुर- महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघका लागि थोरै क्षेत्रफल भए पनि यहाँ ३६ बाघ छन् । विश्वकै दुर्लभ मानिने बाह्रसिङ्गाको झुण्ड देख्न पाइने शुक्लाफाँटा पाटेबाघका लागि प्रख्यात हुन थालेको छ ।
तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस निकुञ्जमा बाघका लागि पर्याप्त आहारा, गुणस्तरीय बासस्थानलगायतको उचित व्यवस्थाले बाघको सङ¬्ख्या बढ्दै गएको निकुञ्ज कार्यालयले जनाएको छ ।
निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले तराईका अन्य राष्ट्रिय निकुञ्जमा भन्दा शुक्लाफाँटामा धेरै बाघ रहेको बताउनुभयो । “यहाँ बाघका लागि खाना र बासस्थानको राम्रो व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “आहाराका प्रजाति धेरै भएकाले पनि यहाँ बाघको सङ्ख्या बढेको हो ।”
शुक्लाफाँटाभित्र रहेका ठूलो घाँसेमैदान, तालतलैया र प्रशस्त आहाराका लागि प्रजाति बढेसँगै बाघको सङ्ख्या पनि बढेको ऐरले बताउनुभयो । उहाँका अनुसार निकुञ्जमा बाघको प्रमुख आहाराका रुपमा बाह्रसि¬ङ्गा, रतुवा, चित्तल र बँदेल छन् ।
“निकुञ्जभित्र प्राकृतिक ताल र तीन वटा ठूला नदीहरु छन्”, ऐरले भन्नुभयो, “यस बाहेक निकुञ्ज कार्यालयले १४ कृत्रिम तालसमेत बनाएको छ । वन्यजन्तुलाई प्यास मेटाउन पानीको अभाव छैन ।” उहाँका अनुसार निकुञ्ज क्षेत्रमा चौधर, स्याली र महाकाली नदी छन् । चौधर नदी यहाँका वन्यजन्तुका लागि प्यास मेटाउने प्रमुख पानीको स्रोत रहेको निकुञ्जले जनाएको छ ।
पछिल्ला केही वर्षयता शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चोरीसिकार नियन्त्रण भई आहारा प्रजातिको उपलब्धता भएकाले बाघको सङ्ख्या चार वर्षमा दोब्बर पुगेको राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले जानकारी दिनुभयो । “पछिल्लो समय चोरीसिकार नियन्त्रण र आहारा प्रजाति निकै राम्रो भएकाले अहिले बाघ दोब्बरले वृद्धि भएको हो”, उहाँले भन्नुभयो ।
जोशीका अनुसार निकुञ्ज प्रशासन, नेपाली सेना र मध्यवर्ती क्षेत्रका उपभोक्ता समिति निकुञ्ज संरक्षणमा लागेका छन् । निकुञ्जमा सन् २०१३ को गणनाअनुसार १७ बाघ रहेकामा सन् २०२२ को गणनामा यो सङ्ख्या बढेर ३६ पुगेको हो ।
निकुञ्जको वरिपरि मानव बस्ती भए पनि बाघ र मानवबीच द्वन्द्व नरहेको निकुञ्ज कार्यालयले जनाएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सन् २००८ देखि स्वचालित क्यामरा प्रविधिबाट बाघ गणना तथा अनुगमन भइरहेको छ ।

https://ujyaalonepalnews.com/archives/29801

Previous articleयार्सा सङ्कलन : आम्दानीको राम्रो स्रोत बन्दै 
Next articleसरकारले संसद्लाई ‘बिजनेस’ दिन सकेन : सभापति लामिछाने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।