नवलपरासी पूर्वमा आँखा पाक्ने रोग तीब्ररुपमा फैलिएपछि सबै बिद्यालय बन्द

नवलपुर- पूर्व नवलपरासीमा आँखा पाक्ने रोग महामारीका रुपमा देखा परेपछि यसबाट सबैभन्दा बढि बिद्यालय पढ्ने बिद्यार्थी प्रभावित हुन थालेपछि जिल्लाका सबै पालिकाले चार दिन बिद्यालय बन्द गरेका छन् ।

जिल्लाको देबचुली अस्पताल, गैंडाकोट नगर अस्पताल, नवलपुर अस्पताल, मध्यविन्दु जिल्ला अस्पताल लगायतका सबै अस्पतालमा आँखाको उपचार गराउन आउने बिरामीहरु मध्ये ९० प्रतिशतमा आँखा पाक्ने रोग एडिनो भाइरल कन्जंग्टिवाइटिस’को संक्रमण देखिएको भन्दै सबै पालिकाले चार दिन बिद्यालय बन्द गरि बिदा दिएका कावासोती नगरपालिकाका नगरप्रमुख बिष्णु भूषालले बताउनुभयो ।

मध्यविन्दु जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन् कंडेलका अनुसार अस्पतालको आँखा वार्डको ओपिडीमा आँखा उपचारको लागि दैनिक एक सय देखि दुई सय बिरामी आउने गरेकोमा ९० प्रतिशत बिरामीलाई आँखा पाक्ने रोग एडिनो भाइरल कन्जंग्टिवाइटिस’ को संक्रमण देखिएको हो ।

बालबालिकामा आँखा पाक्ने रोगको संक्रमण बढेपछि जिल्लाको सबै पालिकाले चार दिन बिदा दिएका छन् भने आँखा पाक्ने रोगबाट सबै उमेर समूहका संक्रमित भइरहेका भएपनि बालबालिकाहरुमा छिटो र धेरैको संख्यामा संक्रमित भएका हुन् ।

आँखाको सेतो भाग सुन्निने र रातो हुने यो रोगलाई ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ भनिन्छ । यसको संक्रमणले आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने हुन्छ । कतिपय संक्रमितमा परेला सुन्निने, आँखा बिझाउने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने लगायतका समस्या पनि देखिएको चिकित्सकहरु बताउछन् ।

यो रोग लाग्दा संक्रमित व्यक्तिको आँखाबाट पानी निस्कने, चिप्रा लाग्ने हुँदा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हात वा अन्य कुनै माध्यमले स्वस्थ व्यक्तिको आँखामा पुग्दा संक्रमण सर्छ । त्यसैले संक्रमित व्यक्ति वा घरबाहिर गएर फर्केका स्वस्थ व्यक्तिले हात नियमित रूपमा साबुनपानीले धुनुपर्ने चिकित्सकको सुझाव छ । यस्तो संक्रमण भएका बेला तौलिया, रुमाल, लुगाफाटो, मेकअपका सामान अरूलाई प्रयोग गर्न दिनु हुँदैन ।

https://ujyaalonepalnews.com/archives/30073

Previous articleन्यू मिडियालाई स्वनियमनबाट नै व्यवस्थित गर्नुपर्छ: मन्त्री शर्मा
Next articleगोलभेडाले उचित मूल्य पाएपछि गुल्मीका कृषक उत्साहित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।