पहिरोले एकै परिवारका ६ जना पुरिए

काभ्रे- अविरल बर्षातका कारण जिल्लाको विकट पालिका खानिखोलामा पहिरोका कारण एकै परिवारका ६ जना सदस्य पुरिएका छन् । काभ्रेपलाञ्चोकको खानिखोला, मकवानपुरको बागमती गाउँपालिका सिमानामा रहेको उक्त स्थान मकवानपुरको बागमति गाउँपालिकामा पर्छ ।

खानिखोला गाउँपालिका अध्यक्ष इन्द्र थिङका अनुसार खानिखोला-५ घर भई बागमती गाउँपालिका गएका एकै परिवारका ६ जना सिक्रे दोभानमा पहिरोले पुरिएका हुन् ।

पुरिनेहरुमा अक्कलबहादुर स्याङतान, उनको श्रीमती शान्तिमाया स्याङतान, छोरी ज्वाई शिला स्याङतान र जीवन पहरी छन् । साथै उनीहरुका दुई सन्तान साढे दुई बर्षिय छोरा र साढे एक वर्षका छोरा पुरिएका छन् ।

पुरिएका मध्ये शान्तिमाया स्याङतानको उद्धार गरी मकवानपुरको भोर्लेनीमा लगिएको छ । अवस्था चिन्ताजनक रहेको स्थानीयलाई उदृत गरी गाउँपालिका अध्यक्ष इन्द्र थिङले जानकारी दिए । पुरिएका मध्ये अन्यको खोजी कार्य जारी रहेको छ ।

अविरल वर्षातका कारण खानिखोला ५ मा रहेको दोश्रो लघु जलविद्युत्तको पाओर हाउस पुरिएको छ भने भवन पनि जोखिममा रहेको छ । अरनिको राजमार्गको बनेपा स्थित पुलबजार डुबानमा परेको छ ।

बनेपाकै १४ पेरुङ्गे सामुदायिक वन सँगै एउटा घर जोखिममा परेको प्रहरीले बताएको छ । उद्धारका लागि नेपाली सेना कालीजंग गण र प्रहरीको टोली घटनास्थल पुगेको छ । जिल्ला स्थित विपद ब्यवस्थापन समितिले नाागरिकहरुलाई सुरक्षित रहन र विपद परेमा तत्काल सम्पर्क गर्न अनुरोध गरेको सूचना सार्वजनिक गरेको छ ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले मातहतका सबै सुरक्षा निकाय तथा कर्मचारी र जनप्रतिनिधिहरुलाई समेत नागरिकहरुको खोज, उद्धारमा लाग्ने गरी तयारीमा रहन अनुरोध गरिएको बताए ।

https://ujyaalonepalnews.com/archives/30087

Previous articleदेशैभर भारी वर्षा, सतर्क रहन आग्रह, बनेपा आसपास क्षेत्र जलमग्न (फोटो फिचर)
Next articleकाठमाडौँमा भारी वर्षाः नदी किनार आसपास सतर्कता अपनाउन अनुरोध
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।