कैदी मृत्यु प्रकरण: घटनामा संलग्न प्रहरीसहित १५ नियन्त्रणमा

संखुवासभा- सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा भएको घटनाको अनुसन्धानका लागि १० प्रहरीसहित १५ जनालाई नियन्त्रणमा लिइएको छ ।
कारागारमा कुटपिटबाट सङ्खुवासभाको मादी नगरपालिका–५ का कैदी १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो । कैदी मादी –५ का तोलाङ्गी र ककनी–७ का २८ बलामीको कुटपिटबाट मृत्यु भएको सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले पुष्टि गर्नुभयो ।
कारागारको शौचालयको झ्यालका रड काटेर भाग्न खोजेको भन्दै कैदी तोलाङ्गी र बलामीलाई बुधबार बिहान १ बजेतिर प्रहरीले नियन्त्रणमा लिएको थियो । कुटपिटमा कारागारको सुरक्षामा खटिएका प्रहरीको समेत प्रत्यक्ष संलग्नता देखिएको बताइएको छ । कारागारमा रहेको सीसीटिभी फुटेज अध्ययनबाट प्रहरीले कैदीलाई कुटपिट गरेको देखिएको हो ।
फुटेज हेरेपछि कारागारको सुरक्षामा खटिएका १० प्रहरीसहित १५ जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक गोदारले बताउनुभयो । पीडित पक्षको किटानी जाहेरी आएपछि म्याद थप गरेर घटनामा संलग्नमाथि थप अनुसन्धान गरिने प्रहरी नायब उपरीक्षक गोदारले बताउनुभयो ।
कुटपिटमा कारागारको सुरक्षामा खटिएका प्रहरी र चौकीदार, नाइके, बडानाइकेसहित पाँच कैदीबन्दी संलग्न भएको देखिएको छ । नियन्त्रणमा लिएका १५ जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कारागारको सुरक्षामा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा २० प्रहरी परिचालन गरिएका थिए । घटनामा प्रहरीको संलग्नता देखिएपछि प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीसहित १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कैदीको मृत्यु भएको घटनाको अनुसन्धानका लागि भनेर प्रहरीले कारागारका चौकीदार रामकुमार कार्कीसहित नौ कैदीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ । उक्त घटना कारागारको ‘ए ब्लक’मा भएको हो । सो ए ब्लकमा ६६ कैदीबन्दी रहेको थिए ।
घटनापछि जिल्ला सुरक्षा समितिले सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा बुधबार तीन सदस्यीय छानबिन समिति बनाएको थियो । समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनाल र प्रशासन कार्यालयका नायव सुब्बा तारणी घिमिरे सदस्य रहनुभएको छ ।
त्यस्तै गरी कोशी प्रदेश प्रहरी कार्यालयले पनि प्रहरी उपरीक्षक ऋषिराम कँडेलको नेतृत्वमा चार सदस्यीय छानबिन समिति बनाएको छ । समितिमा प्रहरी निरीक्षक जितेश दाहाल, प्रहरी नायब निरीक्षक रुद्रबहादुर खड्का र हवल्दार तीर्थ भट्टराई सदस्य हुनुहुन्छ । कोशी प्रदेश प्रहरीको छानबिन  समितिले  बिहीबारदेखि  काम सुरु गरिसकेको छ ।
गृह मन्त्रालयको छानबिन समितिको अनुसन्धान सुरु
जिल्ला कारागारमा दुई कैदीको शङ्कास्पद मृत्यु भएको आरोप लागेपछि गृह मन्त्रालयले समते छानविन समिति गठन गरेको छ । गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका निर्देशक एवं प्रवक्ता कमलप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन गठन गरेको छ ।
समितिमा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकी, राष्ट्रिय अनुसन्धानका नायब उपरीक्षक कुमार बुढाथोकी, कारागार विभागका कानुन अधिकृत तुलबहादुर खड्का र जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रशासकीय अधिकृत सदस्य रहनुभएको छ ।
गृह मन्त्रालयको छानबिन टोली आज सङ्खुवासभा आइपुगेको हो । टोलीले आजदेखि अनुसन्धान सुरु गरेको छ । अहिले सङ्खुवासभा कारागारमा आठ महिलासहित एक सय ३६ कैदीबन्दी छन् ।

https://ujyaalonepalnews.com/archives/30222

Previous articleभक्तपुरमा एक वर्षमा एक लाख ६७ हजार पर्यटक आए
Next articleविदेशमा रहेका श्रीमानलाई मृत सावित गराई सम्पत्ती विक्री गरेर श्रीमति फरार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।