गोरखाको भुम्लिचोकमा अजिङ्गर फेला

गोरखा- गोरखाको गण्डकी गाउँपालिका–६, भुम्लिचोकस्थित पल्लोटारमा अजिङ्गर फेला परेको छ । करिब २२ केजी तौल भएको अजिङ्गर त्रिशूली नदी किनार नजिकै सडकमा भेटिएको सबडिभिजिन वन कार्यालय सिउरेनीटारका प्रमुख वन अधिकृत रविआनन्द गोपालीले जानकारी दिनुभयो ।

गण्डकी गाउँपालिकाको भुम्लिचोक र चितवनको इच्छाकामना गाउँपालिका फिस्लिङ जोड्ने नयाँ बनेको पक्की पुल नजिकै गोरखातर्फको कच्ची सडकमा अजिङ्गर फेला परेको उहाँले जानकारी दिनुभयो ।

“तीनवटा घिस्रने जनावरमध्येमा उद्धार गरिएको अजिङ्गर (पाइथन) एउटा हो”, वनअधिकृत गोपालीले भन्नुभयो, “यो संरक्षित जनावरअन्र्तगत पर्दछ ।” कच्ची सडक नजिकै खसेको पहिरोमा उक्त अजिङ्गर भेटिएको वन अधिकृत गोपालीले बताउनुभयो ।

“स्थानीयवासीले जानकारी दिएपछि वडाध्यक्ष तुलबहादुर गुरुङले हामीलाई अजिङ्गर भेटिएको भनेर कार्यालयमा खबर गर्नुभयो”, वन अधिकृत गोपालीले भन्नुभयो, “कार्यालयबाट तत्काल कर्मचारी गएर अजिङ्गरको उद्धार गरिएको हो ।”

उहाँले फेला परेको अजिङ्गर रैथाने हो वा बाढीले बगाएर ल्याएको भन्ने बारेमा यकिन गर्न कठिन भएको बताउनुभयो । उद्धार गरिएको अजिङ्गरलाई अहिले सबडिभिजन वन कार्यालयमा राखिने र कहाँ छोड्ने भन्ने बारेमा शनिबार मात्र टुङ्गो लाग्ने उहाँको भनाइ छ ।

“सोही स्थानमा छोड्ने कि चितवनमा लगेर राख्ने भन्ने बारेको निष्कर्षमा पुगिसेकका छैनौँ”, उहाँले भन्नुभयो, “भेटिएको अजिङ्गरको बासस्थानको क्षेत्र ठूलो रहने गरेको फेला पारिएको क्षेत्रमा पनि यसको बासस्थान हुन सक्छ ।”

वन अधिकृत गोपाली र वनरक्षक अम्बिका शर्माले लौरो र बोराको सहायताले फेला परेको अजिङ्गरको उद्धार गर्नुभएको हो । स्थानीयवासीले पहिलो पटक त्यस क्षेत्रमा अजिङ्गर फेला परेको बताएका छन् ।

https://ujyaalonepalnews.com/archives/30245

Previous articleएमालेद्वारा कात्तिकसम्म सबै कमिटीलाई लेखा परीक्षण गराउन निर्देशन
Next articleनिजी विद्यालय सञ्चालकको आन्दोलन स्थगन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।