हिमालमै खानेपानीको हाहाकार

डोल्पा- हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ अन्तर्गत पर्ने करेलीकाँडा गाउँका स्थानीयले खानेपानीको चरम समस्या भोग्नु परेको छ । असी भन्दा धेरै घरधुरी रहेको करेलीकाँडामा सबैले एउटा ठाउँबाट पानी भर्नुपर्ने बाध्यता भएकाले पानीको समस्या भएको हो ।

कतिपय व्यक्तिको घरमै धारा भएपनि पानी सानो भएकाले धारामा पानी आउँदैन् । गाउँभरीका स्थानीयले बस्तीको माथिपट्टी रहेको पानीको पाइपलाइन छुटाउँदै पानी भर्ने गरेका छन् ।

वरिपरि प्रशस्त खोलानाला र पानीका मुहान भएपनि नजिकैको बस्तीका बासिन्दाले भने खानेपानीको चरम समस्या भोग्नु परेको स्थानीयको भनाइ छ ।

नगरपालिकामा भर्खरै लागू भएको खानेपानी तथा सरसफाई सम्बन्धी आयोजनाका कर्मचारी गाउँमै आएर खानेपानीको समस्या हल गर्ने आश्वासन दिए पनि कार्यक्रम पर्दा अर्कै गाउँमा पारेको वडा सदस्य झलक बुढाले दुखेसो पोख्नुहुन्छ ।

पानी पालोका कारण प्रत्येक दिनजसो गाउँमा झगडा पर्ने भएकाले आफूहरुको पानीको समस्या हल गरिदिन सम्बन्धित निकायलाई बुढाले माग गरेका छन् । त्यतिमात्र करेलीकाँडा गाउँसम्मै मोटरबाटो नपुग्दा बिरामी ल्याउन लैजान तथा दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न समस्या हुने गरेको छ ।

अविरल वर्षात्‌का कारण खोलानाला बढेर मुहान भत्काएपछि त्रिपुराकोट बजारमा पानीको समस्या छ । धारामा पानी नआउँदा त्रिपुराकोटबासी खोला र वर्षात्‌को पानी थापेर पिउन बाध्य छन् ।

https://ujyaalonepalnews.com/archives/30381

Previous articleकैदीबन्दी मृत्यु प्रकरणः कारागार निमित्त प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी, असई चौधरी पक्राउ
Next articleराष्ट्रपतिद्वारा नवनियुक्त मन्त्रीलाई शपथ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।