मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्रीको संयुक्त राष्ट्रसङ्घको भ्रमण स्वीकृत

काठमाडौँ- सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त राष्ट्रसङ्घको भ्रमण स्वीकृत गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभामा सहभागी हुन प्रधानमन्त्री दाहालको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले जानकारी दिनुभयो ।

बैठकले धुलिखेल अस्पताल, ट्रमा तथा आपत्कालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन तीन अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११६ को उपदफा १ बमोजिम नेपाल धितोपत्र बोर्डलाई धितोपत्र तथा निष्कासन सातौँ संशोधन नियमावली २०८० संशोधन गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

सरकारले राजनीतिक परिवर्तनमा गीत सङ्गीतका माध्यमबाट सहयोग पुर्‍याउनुभएका स्व जेवी टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको पिताको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । बैठकले शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

https://ujyaalonepalnews.com/archives/30638

Previous articleत्रिशूली नदीमा बस खस्योः १५ जना घाइतेको उद्धार
Next articleप्रधानमन्त्रीद्वारा सदन खुलाउन शीर्ष नेतासँग छलफल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।