भीम रावलले खोले एमसीसीभित्र लुकेको अर्कै रहस्य, केपी ओली नै पार्टीविरुद्ध किन ?

0
58

काठमाडौं – अनेक विवादमा परेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गठन गरेको कार्यदलका सदस्य भीम रावलले एमसीसीभित्र रहेको अर्कै रहस्यबारे खुलासा गरेका छन् ।

सरकारसँग एमसीसी सम्झौता मात्रै नभएर अन्य दर्जन सम्झौता समेत रहेको खुलासा रावलले गरेका छन् । रावल नेकपा स्थायी कमिटी सदस्य समेत हुन् ।

आईतबार बसेको अध्ययन कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता रावलले एमसीसीसँग जोडिएका अन्य सम्झौताको पनि अध्ययन भइरहेको जानकारी दिए ।

नेकपा वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको कार्यदलमा रावल सदस्य छन् भने परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली समेत सदस्य रहेका छन् ।

रावलले सञ्चारकर्मीहरूलाई भने, ‘संसदमा प्रस्तुत भएको त एउटा मात्र रैछ, अरु त एक दर्जन सम्झौता भइसकेको रहेछ । हामीले सबै सम्झौताको अध्ययन गरिरहेका छौं । प्रतिवेदनमा सबै समेटेर सार्वजनिक गरिने छ ।’

पार्टीको अध्ययन कार्यदलले निष्कर्ष नदिएसम्म पार्टीका शीर्ष नेताले यसबारे बोल्नु उपयुक्त नहुने सदस्य रावलले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यदलले अध्ययन नसक्दै एमसीसी संसदबाट पारित हुने बताउँदै आएका छन् । प्रधानमन्त्री ओलीले बारम्बार एमसीसीबारे दिएका टिप्पणी केन्द्रीय कमिटीको निर्णयविरुद्ध रहेको नेता रावलले बताए ।

‘कार्यादेशभन्दा फरक किसिमले अभिव्यक्ति दियो भने केन्द्रीय कमिटीलाई सम्मान गरेको हुँदैन,’ नेता रावलले भने, ‘कार्यदलले प्रतिवेदन नबुझाउँदासम्म निष्कर्ष सुनाउने अधिकार केन्द्रीय कमिटीले कसैलाई दिएको छैन ।’ कसैले कार्यदलको विपक्षमा बोलेमा त्यो केन्द्रीय कमिटीको निर्णय विपरीत हुने रावलले बताएका छन् ।

एमसीसी अध्ययन गरेर सुझाव प्रतिवेदन पेश गर्न कार्यदलले १० दिनको म्याद पाएको थियो । तर अध्ययन नसकिएपछि १० दिन म्याद थप गरिएको छ ।

जी–२० अर्थमन्त्रीस्तरीय सम्मेलनमा अल्पविकसित मुलुकले भोगिरहेका समस्या उठान भए: अर्थमन्त्री महत

Previous articleगणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिता चैत १८ देखि
Next articleबुधबार बिहानै नेपाल प्रवेश गर्दै पश्चिमी वायु