आठ महिनामा छ लाखभन्दा बढी विदेशी पर्यटक

काठमाडौँ ।  सन् २०२३ को आठ महिनामा छ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगष्ट महिनासम्म छ लाख एक हजार तीन सय ६० पर्यटक भित्रिएका छन् । पछिल्लो अगष्ट महिनामा मात्रै ६७ हजार एक सय ५३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो वर्ष सन् २०२२ को सोही अवधिमा ४१ हजार तीन सय चार पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ मा ७३ हजार आठ सय १४ पर्यटक नेपाल आएका थिए ।
      बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्ला महिनामा निरन्तर पर्यटक आगमन वृद्धि भइरहेको बताउनुभयो । उहाँले सम्भावित स्रोतबजारबाट निरन्तर आगमन बढिरहेकाले सन् २०२३ मा १० लाख पर्यटक पु¥याउने लक्ष्यमा पुग्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
पछिल्लो अगष्ट महिनामा पनि सबैभन्दा बढी भारतबाट २६ हजार छ सय ६५, चीनबाट पाँच हजार २७, अमेरिकाबाट चार हजार छ सय २९, श्रीलङ्काबाट तीन हजार पाँच सय ५८ र बङ्गलादेशबाट तीन हजार एक सय ९० पर्यटक नेपाल भित्रिएका छन् ।
यस्तै, बेलायतबाट दुई हजार सात सय ११, स्पेनबाट एक हजार पाँच सय ८८, जापानबाट एक हजार पाँच सय २०, इटालीबाट एक हजार चार सय ९६ र अष्ट्रेलियाबाट एक हजार तीन सय ४७ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

https://ujyaalonepalnews.com/archives/30933

Previous articleकोशीको प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ आइतबार हुने
Next articleअरनिको राजमार्ग विस्तारका लागि बजेटको अभाव हुन दिन्न: अर्थमन्त्री
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।