एमाले लुम्बिनी अधिवेशन : नेतृत्व चयनका लागि आज ९ बजेदेखि मतदान हुँदै

रुपन्देही- बुटवलमा जारी एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि आज बिहान ९ बजेदेखि मतदान प्रक्रिया सुरु हुँदै छ । मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले निर्वाचन कमिटीले आवश्यक तयारी गरेको ठिक ९ बजे मतदान सुरु गर्ने बताउनुभयो ।

यसअघि सोमबार रातिदेखि मतदान गर्ने भनेपनि अन्तिम समयमा आन्तरिक तयारी नपुगेको र अध्यक्ष मण्डलले उज्यालोमा मतदान गर्न आग्रह गरेकाले समय सारेको हो । दुईवटा प्यानल बनाएर नेताहरु चुनावी मैदानमा उत्रिएका छन् । सर्वसम्मत हुन नसकेपछि निर्वाचन हुने भएको हो ।

सोमबार साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ । प्रदेश अध्यक्षमा हरि रिजाल र राधाकृष्ण कँडेल चुनावी मैदानमा हुनुहुन्छ । उहाँहरूबीच सहमति हुन नसकेपछि चुनावबाट नयाँ नेतृत्व तय गर्न लागिएको हो ।

प्युठानका रिजाललाई महासचिव शंकर पोखरेल र पाल्पाका कँडेललाई उपाध्यक्ष विष्णु पौडेलको समर्थन छ । आगामी नेतृत्वका लागि पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये आठ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

पाँच पदाधिकारीमध्ये चारवटा पदमा निर्वाचन हुँदैछ । यसबाहेक भुगोलतर्फ रुपन्देही, गुल्मी, बांके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान हुनेछ ।

https://ujyaalonepalnews.com/archives/31048

Previous articleहेल्लो सरकारको २४सै घण्टे सेवापछि गुनासो बढ्ने क्रममा
Next articleविश्वासको मत विरुद्ध परेको रिट निवेदनमा आज पनि सुनुवाइ हुँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।