सहमहामन्त्री यादवको स्वास्थ्य अवस्था स्थिर: ट्रमा सेन्टर

काठमाडौँ- नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था स्थिर रहेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत रहनुभएका उहाँको स्वास्थ्य अवस्था स्थिर र चिकित्सकको निगरानीमा सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा बद्री रिजालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

सहमहामन्त्री यादवको टाउकामा गम्भीर चोट लागेको र सिटीस्क्यान गर्दा कुनै पनि आन्तरिक चोट नदेखिएको उहाँले बताउनुभएको छ । उहाँको टाउकाको पछिल्लो भागमा रहेको घाउलाई न्यूरोसर्जन चिकित्सकद्वारा शल्यक्रिया गरी रक्तश्राव रोकिएको र घाउका टाँका लगाएको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रिजालले बताउनुभयो ।

सहमहामन्त्री यादवको टाउकाको पछिल्लो भाग तथा गर्धनमा धारिलो हतियार प्रयोग भएको र त्यसका कारण गहिरो घाउ भई रक्तश्राव भएको पाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उहाँलाई अवलोकनका लागि अहिले सेन्टरको सघन उपचार कक्षमा राखिएको छ । भृकुटीमण्डपस्थित रिपोटर्स क्लब नेपालमा आयोजना भएको कार्यक्रम सकेर गाडीमा बस्ने क्रममा पछाडिबाट खुकुरी प्रहार गरिएको थियो ।

https://ujyaalonepalnews.com/archives/31112

Previous articleद्रुत गतिका ५१ ‘चार्जिङ स्टेसन’ सञ्चालनमा
Next articleमधेसको कथा भन्नुपर्छ : निर्देशक झरना थापा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।