Home Uncategorized हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आज मनाइँदै

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आज मनाइँदै

काठमाडौं- हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आज अटल सौभाग्यको कामना गरी मनाइँदैछ । विवाहित महिलाहरुले श्रीमानको दीर्घायुको कामना गर्दै तीजको ब्रत बसी मनाउने प्रचलन छ ।

अविवाहित युवा युवतीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय मान्यतामा तीजको ब्रत बस्ने प्रचलन रहेको छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्वमा देवाधिदेव महादेवको पूजा आराधना गरिन्छ ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा कठोर तपस्या गरेर भगवान महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । सत्ययुगमा आजैको दिन कठोर व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।

हिजो दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

तीज पर्वको अवसरमा पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा महिला भक्तजनहरुको चहलपहल बढेको छ ।

https://ujyaalonepalnews.com/archives/31409

Previous articleहरितालिका पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ: राष्ट्रपति पौडेल
Next articleतीजले माइती र चेलीको सम्बन्धलाई प्रगाढ बनाउँछ: उपराष्ट्रपति यादव
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।