हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार सिलवाल र केसीलाई

काठमाडौँ- यस वर्षको ‘हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारबाट कान्तिपुर टेलिभिजनका रूकुम पूर्वका महेश केसी र नेपाल टेलिभिजन धादिङमा कार्यरत शिव सिलवाललाई सम्मान गरिएको छ ।
नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले आज आयोजना गरेको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार-२०८०’ वितरण समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त पुरस्कार प्रदान गर्नुभयो । उहाँले राजनीति र पत्रकारिता दुवै जोखिमपूर्ण यात्रा भएको र टिकिरहन असहज परिस्थिति रहेको बताउनुभयो ।
मन्त्री शर्माले सम्मानित पत्रकारद्वयलाई बधाई दिँदै जोखिम मोलेर काम गर्दा धेरै चुनौती हुने र त्यस्लाई सूचना प्रविधिसँग जोडन कठिनाइ भएको बताउनुभयो । उहाँले सरकारी मिडिया जनताको आवाज बन्नुपर्ने भन्दै पत्रकारिता क्षेत्रमा टिकिरहनका लागि सरकारले सञ्चारसम्बन्धी विभिन्न कानुनहरू बनाइरहेको जानकारी दिनुभयो ।
मन्त्री शर्माले नेपाल टेलिभिजनलाई प्रतिस्पर्धी र उत्कृष्ट बनाउन जरुरी भएको भन्दै त्यसका लागि सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजङ्ग शाहले नेपाली पत्रकारितामा हुने जोखिमलाई अवसरका रूपमा लिएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरी, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल तामाङले पेशागत जोखिम र प्रविधिगत जोखिम बढ्दै गएको र सोहीअनुसार नेपाल टेलिभिजनलाई पनि अघि बढाउन प्रयत्नमा रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सुरक्षित पत्रकारिता गर्नका लागि आवश्यक कानुन र संयन्त्र बन्न आवश्यक रहेको भनाइ राख्नुभयो ।
सम्मानित हुने रूकुम पूर्वका पत्रकार केसीले दुर्गममा पत्रकारिता गर्नका लागि सूचना प्रविधिको पहुँचमा समस्या भएको र त्यसका लागि वातावरण बनाउन आग्रह गर्दै पुरस्कारले काम गर्न थप प्रोत्साहन मिलेको बताउनुभयो ।
पुरस्कार छनोट समितिको तर्फबाट सदस्य दिलभूषण पाठकले २० पत्रकारका सामाग्री आएको र त्यसमध्ये उत्कृष्टलाई छानेको जानकारी दिनुभयो ।
नेपाल टेलिभिजनमा कार्यरत पत्रकार हेम  भण्डारी र क्यामेरा पर्सन सुनिल सिहंको २०६३ साल असोज ७ गते ताप्लेजुङको धुन्सामा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो ।
उहाँहरूको सम्झनामा नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले २०६४ सालमा रू पाँच हजार राशिको पुरस्कार स्थापना गरेको थियो । यो पुरस्कारको राशी बढाएर यस वर्षदेखि  एक लाख रुपैँया पुर्‍याइएको छ ।
प्रतिष्ठान शाखाका अध्यक्ष दीपकजङ्ग हमालले पत्रकारहरुलाई अनावश्यक रुपमा जोखिममोल्न प्रोत्साहित गर्ने नभइ जोखिमपूर्ण परिस्थितिमा पनि कर्तव्यपालना गर्ने तत्परतालाई सम्मान गर्ने यो पुरस्कारको अभिप्राय रहेको बताउनुभयो । कार्यक्रममा पुरस्कारका लागि स्थापित अक्षयकोषलाई बढाएर  रू २० लाख पुर्‍याइएको जानकारी उहाँले दिनुभयो ।
कार्यक्रममा टेलिभिजन शाखाका पूर्वअध्यक्षहरू रामेश्वर शुक्ला, प्रदीप चापागाईं, पुरूषोतम घिमिरे, शालिक सुवेदी र निराजन खनाललाई पनि सम्मान गरिएको थियो ।
नेपाल टेलिभिजन आवद्ध कर्मचारी सङ्घ संगठनका प्रतिनिधिहरु गोपालप्रसाद दाहाल लगायतले नेपाल टेलिभिजनका सञ्चारकर्मी पत्रकारहरुको वृत्ति विकास हुन नसकिरहेको भन्दै संशोधनको प्रकृयामा रहेको कर्मचारी विनियमावली छिटो भन्दा छिटो संशोधन गर्न मन्त्री शर्माको ध्यानाकर्षण गराउनुभयो ।।

https://ujyaalonepalnews.com/archives/31643

Previous articleसर्लाहीलगायत जिल्लाका घटनाबारे गम्भीर भएर छलफल गरिरहेका छाैँ : गृहमन्त्री श्रेष्ठ
Next articleप्राध्यापक त्रिपाठी राष्ट्रकवि माधव घिमिरे पुरस्कारबाट पुरस्कृत
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।