कंग्रेस केन्द्रीय समितिको बैठकः पार्टीको नीति महाधिवेशन आगामी मंसिर १३ , १४ र १५ मा काठमाडौंमा गर्ने तय

काठमाडौं- नेपाली कांग्रेसले आगामी मंसीर १३, १४ र १५ महासमिति बैठक तथा नीति अधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा चार दिनदेखि जारी केन्द्रीय समितिको बैठक सम्पन्न गर्दै कांग्रेसले महासमिति बैठक तयारी गर्न बिभिन्न समितिहरु गठन गरेको छ ।

बैठकले पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल आयोजक समिति, उपसभापति पूर्ण बहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी समिति, महामन्त्री गगन कुमार थापाको संयोजकत्वमा सांगठनिक प्रस्ताव समिति र महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समसामयिक प्रस्ताव समिति गठन गरिएको पार्टी प्रचार विभाग प्रमुख मीन बहादुर बिश्वकर्माले जानकारी दिनु भयो ।

त्यसैगरी बैठकले संविधान जारी भएको आठ वर्षसम्म पनि संविधान कार्यान्वयनका लागि आवश्यक कानून बन्न नसकेको भन्दै तत्काल आवश्यक कानून निर्माण गरेर संघीयता कार्यान्यन प्रभावकारी बनाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

त्यसैगरी सरकारलाई सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्ने र जनातालाई सुरक्षाको प्रत्याभूति दिन सरकारको ध्यानकर्षण गराउने निर्णय गरेको छ । बैठकले महंगी नियन्त्रणको तत्काल पहल गर्न सरकारलाई डेलिगेशनसहित ध्यानाकर्षण गर्न निर्णय गरेको छ ।

त्यस्तै अतिवृष्टी र अनावृष्टीबाट साथै रोग कीराबाट पिडित किसानहरुलाई आवश्यक राहत उपलब्ध गराउन लम्पीस्किन पिडित किसानलाई तत्काल राहत दिन सरकारलाई आग्रह गर्ने निर्णय पनि कांग्रेसले गरेको छ ।

सरकार र आन्दोलनरत् शिक्षकबीच भएको बार्ता र र भएको सहमतिको स्वागत गर्दै बैठकले शिक्षा विधेयक संसदीय प्रकृयाबाट सर्वस्वीकार्य बनाउन पहल गर्ने निर्णय पनि गरेको छ ।

तीनै तहमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई आर्थिक मितव्यिता अपनाउन निर्देशन दिने निर्णय गरेको छ ।

https://ujyaalonepalnews.com/archives/31687

Previous articleडेंगु संक्रमणबाट पाल्पामा थप एकको मृत्यु, मृतक संख्या तीन पुग्यो
Next articleसत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।