मलेखुको माछामा हानिकारक कोलतार रङ्ग (सिम्पेथिक फुड कलर) मिसावट

धादिङ- सबैले मिठो मानेर खाने मलेखुको माछामा अखाद्य वस्तुको मिसावट भेटिएको छ । झट्ट हेर्दा खाउँखाउँ लाग्ने माछामा मानव स्वास्थ्यका लागि हानिकारक कोलतार रङ्ग (सिम्पेथिक फुड कलर) मिसावट गरेको भेटिएको हो ।

विक्रिका लागि राखिने अधिकांश माछामा रङ्ग मिसाएको भेटिएपछि जिल्ला प्रशासन कार्यालय धादिङबाट खटिएको अनुगमन टोलीले त्यस्ता माछाहरु बरामद समेत गरेको छ ।

राम्रो देखाउनका लागि माछा प्रशोधन गर्ने र आगोमा सुकाउने बेलामै ब्यपारीहरुले रङ्ग मिसाउने गरेको पाइएको छ । विक्रिका लागि सजाएर राखिएका अधिकांश माछामा खानै नमिल्ने रङ्ग मिसाइएको पाइएपछि अनुगमन टोलीले त्यस्ता माछाहरु जफत गरी नष्ट गरिदिएको छ ।

होटलहरुले सिलमा सजाएर पसल अगाडि झुण्डाएका माछा र प्रशोधन गर्दै गरेको ठाउँबाट अखाद्यय रंग लगाई राखेको भेटेका जति सबै माछा जफत गरेर नष्ट गरेको धादिङका सहायक प्रमुख जिल्ला अधिकारीले बताउनु भएको छ ।

राजमार्गका होटलहरुमा पटक पटक अनुगन गरेर अखाद्य वस्तुको बारेमा सिकाएपनि अटेर गरिरहेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय नुवाकोटका खाद्य निरिक्षक नवराज श्रेष्ठले बताउनु भएको छ । विक्रिका लागि माछा सेकाउने बेलामा नै कोलतार रङ्गको प्रयोग गरेको पाइएको हो ।

यो रङ्ग पकाएर खाँदा रसायनिक प्रतिकृया गरेर विषाक्त वस्तु बन्छ, त्यस्ता विषाक्त वस्तु मानव शरीरमा प्रवेश भएपछि क्यान्सर जस्ता घातक रोग लाग्ने र शरीरका अन्य अंगमा प्रत्यक्ष असर पार्ने छ ।

खाद्यय बस्तुमा अर्ग्यानिक रङ्ग प्रयोग गर्न पाइने भएपनि केमिकलयुक्त रङ्गले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकोले राम्रो देखाउन कै लागि यस्ता रङ्गको प्रयोग नगर्न सुझाव समेत अनुगमनका क्रममा दिइएको छ ।

राजमार्गका होटल तथा पसलहरुमा यस अघिदेखि नै पटक पटक अनुगमन गरी सामान्य कारबाही गरिरहेकोमा अबदेखि भने यस्तो गरेको पाईएमा कडा कारबाही गर्ने र अटेर गर्नेको व्यवसाय नै सिल गर्ने चेतावनी समेत अनुगमनका क्रममा दिईएको छ ।

धादिङको राजमार्ग क्षेत्रका होटल, पसलहरुको अनगुगमन गर्ने क्रम स्थानीय प्रशासनले पछिल्लो सातादेखी निकै तिब्र बनाएको छ ।

अनुगमन टोलीले मलेखुका माछा प्रशोधन केन्द्र, माछा पसल र होटलहरुबाट हानिकारक रङ्ग मिसावट गरिएको भेटिएका सबै माछा जफत गरेको छ । अनुगमनका क्रममा त्यस्ता माछा करिव एक सय पचास किलो बरामद गरेको हो ।

https://ujyaalonepalnews.com/archives/31745

Previous articleरेसुङ्गा विमानस्थलबाट अब हप्ताको दुई दिन उडान हुने
Next articleउत्तरी इराकमा एक विवाह समारोहमा आगोलागीः कम्तिमा एक सय जनाको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।