भीमोदयले स्वर्ण महोत्सव मनाउने

0
71

उज्यालो नेपाल- चितवनको कालिका नगरपालिका वडा नं. ५ पदमपुरमा रहेको भीमोदय नमुना माध्यमिक विद्यालयले आगामी पौष १३ गते स्वर्ण महोत्सव मनाउने भएको छ । विद्यालय स्थापनाको ५० औं वर्ष पूरा भएको अवसरमा विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरी स्वर्ण महोत्सव मनाउने भएको हो ।

स्वर्ण महोत्सवलाई लक्षित गर्दै विद्यालयमा शनिबार आयोजित एक सर्वपक्षीय भेलाले मूल आयोजक समिति गठन गरेको छ। भेलाले विद्यालय व्यबस्थापन समितिका अध्यक्ष अमृत श्रेष्ठको संयोजकत्वमा दुई हजार एक सदस्यीय आयोजक समिति गठन गरेको हो।

भेलाले सचिवालय गठनको जिम्मा विद्यालय व्यवस्थापन समितिलाई नै प्रदान गरेको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, राजनैतिक दल, पुर्व विद्यार्थी लगायतको  सर्वपक्षीय सहभागितामा गठन हुने सचिवालयले आवश्यकता अनुसारको उपसमिति गठन गर्दै जाने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत श्रेष्ठले जानकारी दिए ।

वि.स. २०२७ सालमा स्थापित विद्यालयले २०७७ सालमै ५० औं वर्ष पूरा गरेतापनि विश्वव्यापी कोरोना महामारीका कारणबाट स्वर्ण महोत्सव मनाउन सकिएको थिएन । महोत्सवमा विद्यालयलाई वर्तमान अवस्थासम्म ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्णको योगदानलाई स्मरण गर्दै, विद्यालयको ऐतिहासिक घट्नाक्रमसमेतलाई समेटेर स्वर्ण स्मारिका प्रकाशन गर्ने, स्वर्ण स्तम्भ स्थापना गर्ने, विभिन्न रचनात्मक र सिर्जनशील कार्यक्रमहरु आयोजना गरिने प्रधानाध्यापक ईन्द्रनाथ पौडेलले जानकारी दिए । 

तत्कालिन बछौली गाविसको दक्षिण तर्फ राप्तीपारी पदमपुर गाउँमा स्थापित यस विद्यालय वि.स २०५९ सालमा पदमपुर गाउँ नै स्थानान्तरण भएपश्चात कालिका ५ मा संचालित छ विद्यालयमा हाल कक्षा नर्सरी देखि कक्षा १२ सम्म झन्डै १५०० विद्यार्थी कृषि प्राविधिक लगायत विज्ञान, व्यवस्थापन तथा शिक्षा समुहमा अध्ययनरत छन् । 

 

https://www.ujyaalonepalnews.com/archives/31845

Previous articleसहकारीको रकम ठगी गर्ने प्रवन्धक पक्राउ
Next articleपर्वतमा बाढीले बगाउँदा जीपसहित तीनजना बेपत्ता