जेहेन्दार विद्यार्थीका लागि १० लाखको अक्षय कोष

धादिङ- धादिङको त्रिपुरासुन्दरी–६ गोलाङमा रहेको भिमोदय माध्यामिक विद्यालयमा १० लाखको अक्षय कोष स्थापना गरिएको छ ।
गोलाङ घर भई हाल अमेरिकामा बस्दै आउनुभएका दिवाकर पाण्डेको परिवारले स्वर्गीय पिता हिक्मत बहादुर पाण्डेको सम्झनामा ‘हिक्मत बहादुर पाण्डे–२०८०’ अक्षय कोष स्थापना गरिदिनुभएको हो ।

जन्मथलोमा रहेको विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने र पढाइकै लागि गाउँ छोड्नुपर्ने बाध्यतामा पुगेका विद्यार्थीलाई गाउँमै टिकाइराख्ने उद्देश्यले आफ्नो कमाइबाट केही रकम छुट्याएर कोषमा स्थापना गरेको उहाँले बताउनुभयो ।

‘विद्यार्थी भाइबहिनीहरु गाउँ छोडेर अन्यत्र जानुपर्ने स्थिति अहिले देखिएको छ, घर आँगनकै विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गरेर उनीहरुलाई सहयोग पुर्‍याउने उद्देश्यले संस्थाको स्थापना गरेको हुँ’, एनआरएन अमेरिकाको सहकोषाध्यक्षसमेत रहनुभएका पाण्डे भन्नुहुन्छ-‘विद्यालय स्थापनाको लागि बुबाको भूमिका अहम थियो, यो अक्षय कोष उहाँको सम्मानको लागि पनि हो ।’

आफु देश बाहिर भएपनि जन्मथलोसँग जोडिएको भावनात्मक सम्बन्धलाई फेरि जोड्नका निमित्त पनि सहयोग गरिएको पाण्डेले बताउनुभयो ।

विद्यालयबाट उत्कृष्ट भएर कुनै राम्रो विद्यालय-कलेजमा अवसर पायो भने उनीहरुका लागि आवश्यक सहयोग गर्न आफु तयार रहेको पनि उहाँले बताउनुभयो ।

‘यो सुरुवात हो, निरन्तर अघि बढ्नेछ’, पाण्डेले भन्नुभयो ।

कोषमा जम्मा गर्ने दश लाख रकमको चेक हस्तान्तरण गर्न गोलाङ पुग्नुभएका पाण्डेकी धर्मपत्नी इन्दिरा सिंखडा, आमा र दाजुसहित नेपालमा शिक्षकको जागिरे रहँदाका समकक्षी शिक्षकहरुलाई स्थानीयहरुले पञ्चेबाजासहित स्वागत गरेका थिए ।

विद्यालयका शिक्षक विद्यार्थीले पनि बिबिध सास्कृतिक कार्यक्रम नै गरेर अक्षय कोषका संरक्षक पाण्डेका परिवारलाई भव्य स्वागत गरेका थिए ।

विद्यालयमा अक्षय कोष स्थापनाले गरिबीले पैसा नभएकै कारण पढाइ छोड्नुपर्ने बाध्यताका विद्यार्थीको शैक्षिक गन्तव्य सुनिश्चितता र शैक्षिक गुणस्तर बृद्धिमा पनि सहयोग पुग्ने भन्दै विद्यालयका शिक्षक अभिभावकहरु खुसी भएका छन् ।।

https://ujyaalonepalnews.com/archives/32420

Previous articleआज विश्व हात धुने दिवस
Next articleपर्यटकलाई लोभ्याउँदै तोक्पेगोला
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।