घुस लिएको आरोपमा नापीका कर्मचारीसहित दुई पक्राउ

झापा- सेवाग्राहीसँग घुस लिएको आरोपमा नापी कार्यालय झापाका एक कर्मचारीसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर र विचौलिया उमेश यादवलाई रु एक लाख २५ हजार घुस रकमसहित भद्रपुरबाट पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले बताउनुभयो ।
उहाँका अनुसार जग्गा कित्ताकाट गरेबापत उनीहरुले सेवाग्राहीसँग घुस रकम मागेको विशेष सूचनाका आधारमा अख्तियारको टोली झापा आएको थियो । भद्रपुर नगरपालिका– ७ स्थित विचौलिया यादवको पूजा फलफूल पसलमा सेवाग्राहीसँग नगद रु ७० हजार र ५५ हजारको चेकसहित रु एक लाख २५ हजार घुस रकम लिइरहेका अवस्थामा उनीहरु पक्राउ परेको प्रवक्ता दाहालले बताउनुभयो ।
पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि इटहरी कार्यालय लगिएको उहाँले जानकारी दिनुभयो । उनीहरुलाई मङ्गलबार नै आयोगको केन्द्रीय कार्यालय काठमाडौँमा पठाइने उहाँको भनाइ छ ।।

https://ujyaalonepalnews.com/archives/32452

Previous articleनवरात्रको आज तेस्रो दिन : गीत सङ्गीतमा लागेकाले विशेष पूजा आराधना गर्ने चन्द्रघण्टा देवी
Next articleभारतबाट ल्याइएको अबैध कुखुरा नष्ट
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।