आर्थिक लाभमा स्वालम्बन लघुवित्तद्वारा जग्गा फुकुवा

सिरहा- स्वालम्बन लघुवित्त वित्तिय संस्थाले आर्थिक लाभमा ऋणीलाई नसोधेरै जग्गा फुकुवा गरिदिएको तथ्य सार्वजनिक भएको छ ।

उक्त लघुवित्त संस्थाका प्रमुख कृपानन्द यादवले ऋणीसँग सोधपुछ नै नगरी अर्कै व्यक्तिलाई जग्गा फुकुवा गरेको चिट्ठी थमाई दिएका छन् ।

सिरहा नगरपालिका–१७ की दुर्गादेवी महतोले स्वालम्बन लघुवित्त संस्थावाट पाँच लाख रुपैयाँ ऋण लिएर किस्ता तिर्दै आएकी थिईन् । त्यस अगावै सिरहा नगरपालिका–१३ का शम्भु महतोसँग उनले एक लाख १० हजार रुपैयाँ सापटी लिएकी थिइन् ।

महतो वैदेशिक रोजगारमा जाने क्रममा दुर्गादेवीले तेब्बर गरी ३ लाखको तमसुक बनाइ दिएकी थिइन् ।

शम्भु वैदेशिक रोजागरीवाट फर्किएर पुनः ३ लाखको तेब्बर गरी ९ लाखको कागज दुर्गादेवीसँग बनाएका थिए । घरायसी समस्याका कारण ऋण तिर्न ढिलाई भइरहँदा शम्भुले तेब्बरको तमसुक बनाए ।

तीन लाखको तमसुक पनि फिर्ता नगरेका शम्भुले अर्को तमसुक ९ लाखको बनाएर राखेका छन् ।

यस विचमा शम्भूले जिल्ला अदालतमा मुद्दा दर्ता गराएर दुर्गादेवीको जग्गा हड्पेका छन् । जिल्ला अदालतवाट जग्गा डाक लिलाम गराएका शम्भूले स्वालम्बन लघुवित्तमा धित्तोमा राखिएर रोक्का गरिएका जग्गा लघुवित्तका प्रमुखसँगको मिलोमतोमा फुकुवा गराएका छन् ।

जिल्ला अदालत सिरहामा शम्भूले पूरानो तमसुक दर्ता गराएर जग्गा डाक लिलाम गराएका छन् ।

९ लाखको नयाँ तमसुक उनले लुकाएर राखेका छन् । ४ लाख ५१ हजार ५ सय रुपैयाँको अदालतले ब्याज सहित ८ लाख ६३ हजार ८९८ रुपैयाँ कायम गरेको थियो ।

जस अनुसार शम्भूले दुर्गादेवीको नाउँमा रहेको जग्गाहरु पटेर्वा ९(क) ८६२ को १० धुर, ८७३ को ६ धुर, ८७५ को ६ धुर र पटेर्वा ८ को कित्ता २८ को ३ कट्ठा १० धुर जग्गा डाक गराएका छन् ।

यी जग्गाहरु स्थानीय चलनचल्ती अनुसार ४० लाख वढीको रहेको छ । चालिस लाख वढीको जग्गा शम्भूले करिब ९ लाखमा आफ्नो नाउँमा डाक गराएका छन् ।

दुर्गादेवीले अदालतले तोकेको रकम आफूले दिन तयार भएको बताउँदै गर्दा पनि शम्भूले जग्गा दाखा गराएको बताएकी छिन् । स्वालम्बन लघुवित्तले मातलोपतामा रोक्का राखेको जग्गा पनि शम्भूले मेरो ऋणको पैसा तिरेर फुकुवा गराएको र मालपोतमा दाखा गराएको दुर्गादेवीले बताएकी छिन् ।

संकटमा दुर्गादेवी दुर्गादेवीका श्रीमान रामउदगार महतो लामो समयदेखि पक्षघात (प्यारालाईसिस)को रोगवाटग्रस्त छन् । घरमा दुई छोरीहरु विद्यालयमा अध्ययनरत छन् ।

दुर्गादेवीले आफूले लिएको ऋण भन्दा वढीको तमसुक बनाएर राखेकोले जिल्ला प्रशासन कार्यालय सिरहामा उजुरी पनि दिएकी छिन् । जिल्ला प्रशासनमा उजुरी दिएपनि त्यसमा सुनुवाई हुन सकेको छैन् ।

यस विचमा शम्भूले गालीगलौज र कुटपिट पनि गरेका छन् । जग्गा डाक लिलाम गराउने क्रममा उनले पटकपटक आफूलाई कुटपिट र गालीगलौज गरेको दुर्गादेवीले बताएकी छिन् ।

दशैंको मुखमा आफ्नो जग्गा हड्पने गरी लघुवित्तको कर्मचारीसँग मिलेर जग्गा फुकुवा गराएर दाखा गराएको भन्दै उनले न्यायको लागि चौतर्फी गुहार लगाएकी छिन् । एकातिर मिटरब्याजी शम्भूको चंगुलमा फसेकी उनी अर्कोतिर भएको जग्गा पनि लघुवित्तको कर्मचारीले आर्थिक लाभमा फुकुवा गरिदिएर यस दशैंमा परिवारमाथि ब्रजपात परेको सुनाइन् ।

लघुवित्त कार्यालय सिरहाका प्रमुख कृपानन्द यादवले आफूसँग गल्ती भएको स्वीकार गरेका छन् ।

लघुवित्तको समूहका सदस्य रहेको भन्दै उनले दुर्गादेवीको सट्टा शम्भू महतोले रकम बुझाएर जग्गा फुकुवा गर्न लगाएको बताए । अदालतको पत्र देखाएर आफूसँग जग्गा फुकुवा गराएको कार्यालय प्रमुख यादवको दावी छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख प्रजिअ राजेन्द्र देव पाण्डेले मिटरब्याजीमा उजुरी परेकोले त्यसमा हामीले गम्भीर रुपमा छानबीन गरी टुंगोमा पुर्याउने बताएका छन् ।

यता दुर्गादेवीको जग्गा स्वालम्बन लघुवित्तका कार्यालय प्रमुखसँगको मिलोमतोमा फुकुवा गराएका शम्भुसँग प्रतिक्रिया लिन खोज्दा फोन सम्पर्क हुन सकेन ।।

https://ujyaalonepalnews.com/archives/32484

Previous articleनागढुङ्गा सिस्नेखोला सुरुङमार्ग : जमिन भासिएको स्थानका प्रभावितलाई मासिक घर भाडा दिइने
Next articleरत्ननगर वडा नं १६ का दुई महिला समुहलाई नाैमती बाजा हस्तान्तरण 
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।