नेपाल पाँच विकेटले विजयी

काठमाडौँ- राजधानीमा जारी त्रिकोणात्मक टि-२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिताअन्तर्गत हिजो भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई ) पाँच विकेटले पराजित गरेको छ ।

युएईले जितका लागि दिएको एक सय ६५ रनको लक्ष्य नेपालले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालको जितमा ओपनर असिफ शेखले सर्वाधिक ६२ रनको योगदान दिए । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ४७ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले अविजित रहदै ४० रन जोडे ।

नेपालले सुरुवाती तीन ओभरमै ओपनर कुशल भुर्तेल, सोमपाल कामी र कुशल मल्ललाई गुमाएको थियो । तर कप्तान पौडेल र आसिफ शेखले ९९ रनको उत्कृष्ट साझेदारी गर्दै खेलमा फर्किएको थियो ।

यूएईका मोहम्मद जवादुल्लाहले दुई विकेट लिए भने अकिफ राजा र जहूर खानले समान एक/एक विकेट लिए ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६४ रनको योगफल बनाएको थियो । उसका लागि बसिल हमिद र वृत्य अरविन्दले समान ४५/४५ रनको योगदान दिए । त्यस्तै आसिफ खानले १८ रन बनाए ।

बलिङतर्फ नेपालका सोमपाल कामी र अभिनास बोहोराले समान दुई÷दुई विकेट लिए भने करण केसी र गुल्सन झाले समान एक÷एक विकेट लिए । नेपालले यसअघि भएको पहिलो खेलमा युएईलाई सात विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । त्यस्तै नेपालले तेस्रो खेलमा हङकङलाई ७९ रनले पराजित गरेको थियो । अब नेपालले यूएई र हङकङमध्ये एकसँग फाइनल खेल्नेछ ।।

https://ujyaalonepalnews.com/archives/32579

Previous articleसभामुखबाट बडादसैँको शुभकामना: जनताको जीवनमा परिवर्तन ल्याउने इच्छाशक्तिको विकास गर्न सकोस्
Next articleपोखराको पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कन्छ : परराष्ट्र मन्त्री साउद
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।