भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको संख्या १३८ पुग्यो, १५४ जना घाईते

0
48

रुकुम- शुक्रवार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको संख्या १३८ पुगेको छ । मृत्यु हुनेमा महिला ८८ र ५० जना पुरुष रहेका छन् भने १५४ जना घाईते भएका छन् ।

कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार प्रदेशका जाजरकोट, रुकुम पश्चिम, जुम्ला र दैलेखमा गरी घाईते हुनेको संख्या १६० पुगेको हो । जाजरकोटमा ६९ महिला र ३१ पुरुष गरी १०० जना मृत्यु भएको छ भने ८१ जना घाईते भएका छन् ।

त्यस्तै रुकुम पश्चिममा १९ महिला र १९ पुरुष गरी ३८ जनाको मृत्यु भएको छ भने ७३ जना घाईते भएका छन् । यसैगरी जुम्लामा २ महिला र १ पुरुष घाईते भएका छन भने दैलेखमा ३ जना पुरुष घाइते भएको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनु भयो ।

उहाँका अनुसार सख्त घाईतेमध्ये जाजरकोटका १३ जना प्रदेश अस्पताल सुर्खेतमा र २२ जना नेपालगञ्ज मेडिकल कलेजमा उपचार भईरहेको छ । त्यस्तै रुकुम पश्चिमका ६ जनाको नेपालगञ्ज मेडिकल कलेजमा र १२ जनाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको छ ।

यसैगरी दैलेखका घाईतेहरुको जिल्ला अस्पताल दैलेख र जुम्लाका घाईतेहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भईरहेको छ । संघ सरकारसँगको समन्वयमा कर्णली प्रदेश सरकारले नेपाली सेनाका तीन वटा हेलिकप्टरबाट घाईतेहरुको उद्दार गरी उपचारका लागि सुर्खेत र नेपालगञ्ज पुर्‍याउने काम गरिरहेको मन्त्री जिसीले जानकारी दिनु भयो ।

उहाँले काठमाडौदेखि नेपाली सेना र सशस्त्र प्रहरी बलको स्वास्थ्य टोलीसँगै कर्णाली प्रदेशका स्वास्थ्यकर्मीहरुलाई घाइतेहरुको उपचारमा परिचालन गरिएको बताउनु भयो । उहाँका अनुसार भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्दारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसँगै विभिन्न संघ संस्थाहरु परिचालन भएका छन् ।

सुर्खेतबाट भूकम्प प्रभावितहरुका लागि आज विहान ७ ट्रक खाद्यान्न तथा त्रि–पाल, कपडालत्ता पठाईएको छ । त्यसैगरी खाद्यान्न तथा लत्ताकपडालगायतका राहत सामाग्रीहरु नेपाली सेनाको स्काई ट्रकबाट भूकम्प प्रभावित क्षेत्र पठाउने काम युद्धस्तरमा जारी राखिएको मन्त्री जिसीको भनाइ छ ।

https://www.ujyaalonepalnews.com/archives/32916

Previous articleलुम्बिनी सरकारले भूकम्प पिडितलाइ १ करोड ५० लाख दिने निर्णय
Next articleघाइतेको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषद्को निर्णय