देशमा धेरै ठाउँको मौसम धुम्म, पानी नपर्ने मौसमविदको भनाइ

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित धेरै ठाउँको मौसम धुम्म छ । तर, तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुसँगै भारतको छत्तिसगढमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम धुम्म भएको मौसमविद् राजु प्रधानांगले जानकारी दिनुभयो ।

उहाँका अनुसार छत्तिसगढमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव धेरैजसो कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनीका पूर्वी क्षेत्रमा परेको छ । यही प्रणालीका कारण कोशी प्रदेशका एक दुई ठाउँमा आज हल्का पानी पर्ने अनुमान छ । अन्य क्षेत्रमा भने मौसम धुम्मिए पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् प्रधानांगले बताउनुभयो ।

आज दिउँसो पनि मौसम पुरै खुल्ने सम्भावना छैन । केहीबेर घाम लागे पनि फेरि बादल लाग्ने उहाँले बताउनुभयो । उहाँका अनुसार अझै केही दिन मौसम यस्तै रहने अनुमान छ ।

मौसम धुम्म भएकाले तापक्रम भने खासै घटेको छैन । बिहान काठमाण्डौको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ । आज अधिकतम तापक्रम भने २० देखि २१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

Previous articleकालिका- १० श्री आधारभूत विद्यालय लोतन्तीका विद्यार्थीलाई पोशाक वितरण
Next articleरत्ननगरकी एक महिलाले गरिन् आत्मदाहको प्रयास
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।