आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

0
27

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजका लागि तय भएको प्रतिनधिसभाको बैठकमा विश्वासको मत लिँदै छन्। सङ्घीय संसद् सचिवालयले यसका लागि आवश्यक तयारी गरिसकेको छ।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची छ। सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएको अवस्थामा प्रधानमन्त्रीले सदनबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

यही फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आज पुनः प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्रीमा चयन भएका थिए। उनले २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए।

नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले पहिलोपटक प्रतिनिधिसभामा रहेका अधिकांश दल र सांसदको विश्वासको मत प्राप्त गरेका थिए।

संसद्मा उपस्थित दुई सय ७० सांसदमध्ये दुई सय ६८ जनाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए। त्यसबेला नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लगायतका सबै दलले उनलाई विश्वासको मत दिएका थिए।

राष्ट्रपति निर्वाचनका क्रममा पुनः सत्ता गठबन्धन फेरियो। नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए। सत्ता गठबन्धन फेरिएपछि २०७९ चैत ६ गते पुनः प्रधानमन्त्री दाहालले विश्वासको मत लिए। सो दिन प्रतिनिधिसभामा भएको मतदानमा उनले एक सय ७२ मत प्राप्त पाए। उनको विपक्षमा ८९ मत परेको थियो।

यही फागुन २१ गते गठबन्धन परिवर्तन भएपछि साविकको सत्ता सहयात्री नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ। सो दलले विश्वासको मत फिर्ता लिएको छ। नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)सहितको पाँच दलले नयाँ गठबन्धन बनाएका छन्। सरकार विस्तारसमेत भइसकेको छ।

नयाँ गठबन्धनको समर्थन प्राप्त गरेका प्रधानमन्त्री दाहालले आज प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका हुन्। गठबन्धनमा आबद्ध दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्वीपसमेत जारी गरिसकेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ।

प्रतिनिधिसभामा एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, जनता समाजवादी पार्टी नेपालका १२, एकीकृत समाजवादीका १० सांसद छन्। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता रञ्जिता श्रेष्ठले पनि ह्वीप जारी गर्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिन निर्देशन दिएकी छन्।

सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलले ह्वीप जारी गरिसकेको, नागरिक उन्मुक्ति पार्टीलगायतका दल र सांसदले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन्। यस आधारमा प्रधानमन्त्रीले सहजै विश्वासको मत प्राप्त गर्ने देखिएको छ।

प्रधानमन्त्रीलाई विश्वासका लागि एक सय ३८ मत आवश्यक पर्दछ। सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आजको बैठकका लागि सम्भावित कार्यसूचीका रूपमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने विषय समावेश गरेको छ।

Previous articleप्रचण्ड, नेपाल र ओली क्रमशः १३–१३ महिना प्रधानमन्त्री
Next articleरेशमले रन्जितालाई लेखे- मैले तिमीलाई सम्झाउन सकिन प्रिय !