पहिरोले दुईवटा बस त्रिशूलीमा बगायो, ६५ जना यात्रुको अवस्था अज्ञात

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएको छ। ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन्। उनका अनुसार काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन्।

प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए। उनले भने, ‘हामी घटनास्थलमा छौँ। पानी परिरहेकाले समस्या भइरहेको छ। उद्धारको काम थालिएको छ। पहिरो पन्छाउन सुरु गरिएको छ।’

उनले ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको बताए। रासस

Previous articleचन्द्र भण्डारीलाई मन्त्री बनाउने देउवाको तयारी, ओलीको पनि चाहना
Next articleचितवनको पहिरोमा बसको झ्यालबाट हामफालेका यात्रुको बयान, म त बाँचेँ, सँगैका साथी बेपत्ता भए
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।