नेपालमा क्यान्सरबाट दैनिक ४० जनाको मृत्यु

इटहरी । नेपालमा क्यान्सर रोग लागेर दैनिक ४० जनाको मृत्यु हुने गरेको बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर अरुण शाहीले बताएका छन् । सोसियल रिकन्ड्रक्सन फाउन्डेशन इटहरीले शनिबार आयोजना गरेको जनचेतना कार्यक्रममा बोल्दै उनले क्यान्सर रोगबाट दैनिक ४० जनाको मृत्यु हुने बताएका हुन् ।

डाक्टर शाहीले क्यान्सर रोग भयावह नरहेको र यसको हेलचेक्राईँले मानिसको मृत्यु हुने गरेको बताए । ‘क्यान्सर भन्दा खत्रा रोग प्रेसर र डायबिटिज हो,’ उनले भने, ‘समय–समयमा उपचार गराएमा क्यान्सरको रोग ठीक हुन्छ ।’ उनले नेपालमा अहिलेसम्म सबैभन्दा बढी मानिस फोक्सोको क्यान्सरबाट निधन हुने गरेको सुनाए ।

शाहीले धूवाँ धूलोको कारण, नचाहाँदा–नचाहाँदै पनि मोटाउँने, अस्वभाविक रुपमा तौल घट्ने, बिनाकारण आवाज परिवर्तन हुने जस्ता कुरा भएमा क्यान्सरको लक्षण हुन सक्ने भन्दै सचेत रहन आग्रह गरे । अहिले नेपालमा पाठेघरको मुखको क्यान्सर भएका महिलाहरुको संख्यामा बृद्धि भईरहेको बताउँदै दैनिक ५ जना महिलाको पाठेघरको क्यान्सरबाट मृत्यु हुने गरेको तथ्याङ्क सार्वजनिक गरे ।

युवा उमेरमै पनि अहिले मुखको क्यान्सर हुने गरेको उनको भनाई थियो । ‘अहिले २५–३० बर्षका मानिसलाई मुखको क्यान्सर हुने गरेको छ, यसको कारण हो, खैनी, चुरोट र अन्य हानीकारक पदार्थ खानुले पनि क्यान्सर हुन्छ ।’ उनले भने । पोलेको मासु खान नहुने र शारीरिक व्यायाम गरेमा क्यान्सरबाट बच्न सकिने उनको भनाई थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य सिताराम मेहेताले क्यान्सरको नियन्त्रण गर्नका लागि उक्त कार्यक्रम गर्नु सराहनीय रहेको तर्क गरे । ‘म आफैँ उपचारका लागि दिल्ली पुगेको छु, हामीले नजानेरै ठूलो क्षति बेहोर्नुपरिरहेको छ,’ उनले भने, ‘हाम्रा नेताहरू सानो उपचारका निम्ति हङकङ, सिंगापुर पुगिरहेको अवस्था छ, तर नेपालमै सचेत भएमा यसबाट बच्न सकिन्छ ।’

पछिल्लो समय नेपालमा क्यान्सर रोगबाट मृत्यु हुनेको संख्या भयावह रहेको भन्दै क्यान्सर लाग्न नदिनका लागि उक्त सचेतना कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष राम निरौलाले बताए । उनले भने, धूँवा, धूलोका कारण पनि हामीलाई रोग लागिरहेको छ, रोग लाग्न नदिनका लागि पनि यो निःशुल्क सचेतना कार्यक्रमको आयोजना गरिएको हो ।’ संस्थाका सचिव रमेश खड्काले यसअघि पनि उक्त संस्थाले विभिन्न सामाजिक कार्यक्रम आयोजना गरेको र आगामी दिनमा सचेतनाका कार्यक्रमहरु आयोजना गर्ने बताए ।

The post नेपालमा क्यान्सरबाट दैनिक ४० जनाको मृत्यु appeared first on Rajdhani Daily News.

विश्व स्वास्थ्य संगठनले कोरोनाबारे भ्रम हटाउन सार्वजनिक गर्‍यो यी १५ सुझाव

Previous articleगल्ती गर्ने कसैलाई पनि पार्टीले छुट दिँदैन : प्रचण्ड
Next articleकोरियामा कोरोना संक्रमितको संख्या एकै दिन दोब्बर बढेर ४३३ पुग्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।