रत्ननगरमा व्यापार महोत्सव : कुलेन्द्र विश्वकर्माको प्रस्तुतीमा झुमे दर्शक 

रत्ननगर । चितवनको रत्ननगरमा जारी पूर्वी चितवन रत्ननगर सांस्कृतिक तथा व्यापार महोत्सवमा चर्चित गायक कुलेन्द्र विश्वकर्माले दमदार प्रस्तुती दिएका छन् । गायम कुलेन्द्रको प्रस्तुतीमा दर्शक झुमेका थिए ।

कर्णराज गिरी, आयुष अधिकारी उत्तम मल्ल तथा स्थानीय कलाकारहरुले प्रस्तुती दिएका थिए । महोत्सव अन्तर्गत सोमबार रमेशराज भट्टराई, दुर्गेश थापा, विन्दु परियार, प्रितम मल्ल र बलराम सरकार, पवित्रा गुरुङ, सुमन रोक्काको प्रस्तुती रहने संयोजक संजय लोप्चन तामाङले जानकारी दिए ।

द हेल्पिङ युथ क्लब रत्ननगरको मुख्य आयोजना तथा संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.लिको आयोजनामा रत्ननगर वडा नं १ स्थित बसपार्कसंग जोडिएको खुल्लाचौरमा महोत्सव सञ्चालन भइरहेको छ ।

महोत्सवमा स्वदेशी उत्पादनको पहिचान, उद्योगी व्यवसायी र उपभोक्ता बीच प्रत्यक्ष सम्बन्धको विस्तार गरी उपभोक्ताहरूको चाहना अनुसार उत्पादन तथा सेवा प्रति विश्वास अभिवृद्धि गर्ने, स्थानीय एवम् राष्ट्रिय स्तरका उत्पादनको बजार प्रवर्धन गर्ने, देशभरिका व्यवसायीहरु बीच आपसी समन्वयको भावना जागृत गराउने, व्यवसायीहरू बीचको अवसर, समस्या र चुनौतीबारे अन्तरक्रिया गर्ने, कृषिलाई आधारशिलाको रुपमा विकास गर्नका लागि सहयोग पुर्याउने, कृषि लघु तथा घरेलु उद्यमहरूको बजार प्रवद्धन गर्ने, धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको सहसंयोजक सुर्यमान तामाङले जानकारी दिए ।

२०० वटा स्टल रहेको सो महोत्सवमा महिला उद्यमीहरुलाई निःशुल्क स्टलको व्यवस्था गरिएको छ । महोत्सवमा व्यवस्थापकीय जिम्मेवारी लिएको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले स्थानीय उत्पादनको प्रबर्धनसंगै कला, संस्कृति, भाषा, भेषभूषा, मौलिक पहिचान झल्किन सांस्कृतिक गतिविधि सहित स्थानीय प्रतिभा, नव प्रतिभाको खोजी गर्न महोत्सब आयोजना गरिएको बताए ।

करिब तीन करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको व्यापार महोत्सवमा करिब २ लाख दर्शकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

Previous articleचितवनको खैरहनीमा देशकै ठुलो फोहोर प्रशोधन उद्योग सञ्चालन
Next articleचित्रवन स्कूल बस दुर्घटना अपडेट: घाइते एक बालकको उपचारको क्रममा मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।