पाँचथर, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र विकासमार्फत जनतालाई सुखसुविधा उपलब्ध गराउन सरकार लागिपरेको बताएका छन् ।
पाँचथरको कुम्मायक गाउँपालिका, यासोकमा बृहत् पम्पिङ खानेपानी आयोजना तथा विद्युतीकरणको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
ओलीले तीव्रताका साथ विकासका काम अघि बढाउनु नै सरकारको मुख्य लक्ष्य रहेको बताए ।
आफू झण्डै ५० वर्षअघि यासोक र रानीगाउँ क्षेत्रमा हिँडेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले सबै क्षेत्रको विकास सरकारको उत्तिकै प्राथमिकतामा परेको बताए ।
उनले भने, ‘हाम्रो काम सकेसम्म देशको विकास र जनतालाई सहुलियत दिने हो ।’
प्रधानमन्त्री ओलीले टाढाबाट कम्मरमा पानी बोकेर ल्याउनुपर्ने पीडा र दुःखसँग आफू साक्षात्कार रहेको बताउँदै मोटरबाटो, विद्युत्, खानेपानी जस्ता अत्यावाश्यक सेवा उपलब्ध गराउन सरकारले दूरगामी महत्वका आयोजना अघि बढाएको बताए ।
प्रधानमन्त्री ओलीले पूर्वी नेपालमा ठूला सडक आयोजनासहित तमोर जलाशययुक्त आयोजना निर्माणमा सरकारले ध्यान दिएको बताए ।
उनले भने, ‘विकास, बिजुली, बाटो, शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगारी यिनै कुराहरुसँग जनताको सुखसुविधा जोडिएको छ । यिनै कुरामा हाम्रो ध्यान गएको छ ।’
प्रधानमन्त्री ओलीले यहाँ महिलाको दुःख अन्त्य भएकामा बधाई ज्ञापनसमेत गरे ।
प्रधानमन्त्री ओलीले खानेपानी आयोजना सञ्चालनका लागि विद्युत् महसुलमा छुट दिन आफू सकारात्मक रहेको बताए ।
उनले सुखसुविधा पुगेका स्थानलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न स्थानीयवासीलाई आग्रह गर्नुभयो ।
‘उता हपहप गर्मी भएका बेला यहाँको शीतल हावा खान तराईका सबै मानिसहरु आउँछन्,’ प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरुले त्यस खालको वातावरण निर्माण गर्नुहोस् ।’
सो अवसरमा प्रधानमन्त्री ओलीलाई सहभागीले उनको ६९औँ जन्मदिनको सामूहिक शुभकामना व्यक्त गरेका थिए ।
शुभकामना व्यक्त गर्ने सबै सहभागीलाई प्रधानमन्त्री ओलीले धन्यवाद ज्ञापन गरे । रासस
The post तीव्र विकासमार्फत जनतालाई सुखसुविधा उपलब्ध गराउन लागिपरेका छौं : प्रम ओली appeared first on Koshi Online.
विपक्षी दलका भ्रमलाई कांग्रेसले चिर्नुपर्छ : वरिष्ठ नेता पौडेल


